logo-img

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया : सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एवं पूर्वगृहमन्त्री सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् । 

शुक्रबार कास्की जिल्ला अदालतले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लामो स्पष्टीकरण दिएका हुन् । लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनेक प्रश्नसमेत गरेका छन् ।  

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो । तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाईं  बिचौलियाको सेवा गरेबापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ? तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा नि केही भेट्दैनौँ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनुपर्ने ?,’ लामिछानेले प्रश्न गरेका छन् ।  

उनले भाटभटिनीको प्रकरण मोड्न पनि आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्न लगाइएको आरोप पनि लगाएका छन् । उनले भ्रष्टाचारी समात्न प्रधानमन्त्रीको अफर लत्याएको समेत उल्लेख गरेका छन् ।

‘यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर, म कहिले भागेर हिँडिन र हिँड्दिनँ पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यहीँ अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । वाचास्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रोसँग थाहा छ । तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात् प्रमाण हो,’ लामिछानेले भनेका छन् ।  

उनले ओलीलाई एमाले नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग भएको पनि आरोप लगाएका छन् । ‘तपाईंहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार । तपाईंहरू तीनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईँहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौँ ।’ 





  • प्रकाशित मिति : कात्तिक २, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया