logo-img

बेलायती राजाले स्विकारे उपनिवेशवाद, भने- ‘विगतका पाठ भविष्यको मार्गदर्शक’

बेलायतका राजा चार्ल्सले राष्ट्रमण्डल शिखर सम्मेलनमा ब्रिटेनको विगतको उपनिवेशवाद र यसले पुर्याएको पीडालाई स्वीकार गरेका छन् । तर, धेरै राष्ट्रका नेताहरूले अपेक्षा गरेको दास प्रथाको लागि वित्तीय क्षतिपूर्तिसम्बन्धी प्रत्यक्ष संवाद भने नगरेर विगतका पाठलाई भविष्यका सही निर्णयका लागि मार्गदर्शक बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरे । 

समोआमा भएको राष्ट्रमण्डल सरकार प्रमुखको बैठक (चोगम) मा पहिलोपटक राजा चार्ल्सले सहभागिता जनाउँदै ५६ राष्ट्रमण्डल राष्ट्रका नेताहरूसँग सम्बोधन गरेका थिए ।  

सम्बोधनमा उनले जलवायु संकट, विकास चुनौती, र महारानी एलिजाबेथलाई सम्झना गर्दै ऐतिहासिक अन्यायका पाटाहरूलाई स्वीकार गर्ने उल्लेख गरे ।

चोगममा सामेल भएका कतिपय अफ्रिकी र क्यारेबियन नेताहरूले ब्रिटेन र अन्य युरोपेली शक्तिहरूले विगतको दास प्रथाको लागि वित्तीय मुआब्जा दिनुपर्ने माग गरे । 

बहामासका प्रधानमन्त्री फिलिप डेभिसले विगतका अत्याचारहरूको सम्बोधनको माग गर्दै भने, ‘यो समय गम्भीर वार्ताको हो । न्यायको यो संघर्ष अझै समाप्त भएको छैन ।’ 

विवादको सन्दर्भमा ब्रिटिस प्रधानमन्त्री कियर स्टारमरले भने वित्तीय मुआब्जाको सट्टा, गैर–वित्तीय क्षतिपूर्तिको सम्भावना खुला रहेको संकेत दिएका छन् । यस अन्तर्गत वित्तीय संस्थाहरूको पुनर्संरचना र ऋण राहतको प्रस्ताव पनि सामेल हुन सक्नेछ ।



संगठनका पूर्व महासचिव पेट्रिसिया स्कटल्यान्डले उद्घाटन भाषणमा उपनिवेशवादको इतिहासलाई स्वीकार गर्दै राष्ट्रमण्डलका राष्ट्रहरूले आपसी समानतामा रहेको भनेका थिए । 

सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सका प्रधानमन्त्री राल्फ गोंसाल्भेसले ब्रिटिस उपनिवेशवादले स्वदेशी समुदाय र अफ्रिकी दासहरूको जीवनमा गहिरो प्रभाव पुर्याएको भन्दै दास प्रथाको अन्त्यपछि उनीहरूलाई कुनै पनि प्रकारको राहत नदिइएकोमा ध्यानाकर्षण गरे ।



राजा चार्ल्सले आफ्नो सम्बोधनमा राष्ट्रमण्डलका वर्तमान चुनौती, विशेषगरी जलवायु संकट र विकास समस्याहरूलाई पनि उठाउँदै असमानताहरूले राष्ट्रहरूबीच विभाजन र द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनी दिए  ।

शिखर सम्मेलनले ब्रिटेनको विगतको उपनिवेशवाद र दास प्रथाको विरासतलाई न्यायपूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको कुरामा बल दिएको छ ।  

  • प्रकाशित मिति : कात्तिक ९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया