विराटनगर– प्रदेश १ को राजधानीलगायत संरचनाबारे नेकपा संसदीय दलले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै संघर्षमा उत्रेका राजनीतिक दल तथा पेसाकर्मीले आह्वान गरेको अनिश्चितकालीन बन्दले विराटनगरको जनजीवनमा प्रभाव पारेको छ ।
सत्तरुढ नेकपाको प्रदेश संसदीय दलले विराटनगरलाई प्रदेश राजधानी बनाउने र त्यसका संरचना बृहत् विराट क्षेत्र विकासअन्तर्गत इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । बहुमत प्राप्त दलको यो निर्णयसँगै राजनीतिक दल तथा विराटनगरका पेसाकर्मीहरु सबै संरचना विराटनगरमै राख्नुपर्ने भन्दै नागरिक दबाब समूह बनाएर संघर्षमा उत्रिएका हुन् ।
राजधानी सार्ने षड्यन्त्र भएको भन्दै उनीहरुले सबै संरचनासहित विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न माग गरेका छन् ।
संघर्षमा उत्रेको ‘शान्तिपूर्ण दबाब समिति’मा कांग्रेस, संघीय समाजवादी फोरम, राजपालगायत दलसँगै उद्योगी, व्यवसायी तथा पेसाकर्मी छन् । नेकपा विराटनगरसमेत आफ्नै पार्टीको निर्णयविरुद्ध दबाब समूहमा मिसिएको छ ।
अनिश्चितकालीन बन्दले बिहानैदेखि विराटनगरको जनजीवन प्रभावित भएको छ । उद्योग, कलकारखाना, बजार तथा यातायात खुलेका छैनन् । शैक्षिक संस्थामा भने बन्दले असर पारेको छैन । प्रदर्शनकारीहरु बिहानैदेखि सडकमा उत्रेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।