प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताएका हुन् ।
‘देशमा विकास भएको छ, राम्रा काम भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउने काम एकछिनमा हुने कुरो होइन । देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन् । त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्कने बताए ।
उनले भने, ‘निराश भइहाल्नुपर्ने अवस्था छैन । गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ । गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ, तर, मेरो आग्रह के मात्रै हो भने एउटा सिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो ।’
सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरुप कामलाई तीव्रताका साथ अगाडि बढाउछ’, उनले भने ।
पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गरेका छन् । तिहारका अवसरमा विगतका वर्षमा जस्तै सिस्नोपानी नेपालले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।