logo-img

आशामै बित्यो बाढी पहिरो प्रभावितको एक महिना, पीडित गुनासो गर्छन्- सरकार खबर सोध्न पनि आएन

अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नं १२ रोशी बजारकी गीता केसी छिमेकीको घरमा बस्दै आएकी छन् । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ति गरेको एक महिना बढी भयो ।

राज्यले बासस्थान बनाईदिने भन्ने कुराले मनमा आश पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै वितेको छ । तर अहिलेसम्म उचित व्यवस्थापन समेत नगरेको उनको गुनासो छ । पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसंगै बाढीले बगाएपछि अहिले उहाँहरु छिमेकीको घरमा रात विताउँदै आएको छ । 

‘खोलाको बाढीले ल्याएर थुपारेको ढुंगा, दाउरा र काठ पन्छाएर भएपनि अन्न फलाउने खेत त बनाउनै पर्यो,’ यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उनले भनिन्, ‘आफ्नो भएको जग्गा नै यही हो, अरु विकल्प केही छैन ।’ खाद्यान्न चाही अलिअलि पाईरहेको र केही दिन अगाडी जस्तापाता बाँडेकोले लिएर राखेको उनले सुनाइन् । सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासंगै धमिलिएको मन केही भएपनि सफा हुने उनी बताउँछन् ।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहनुभएका माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन वितिरहेको बताइन् । पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उनीहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन् । ‘सधैं त कोठा लिएर बस्न सकिदैन,’ उनले भनिन्, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताईरहेको छ ।’ खेती किसानी गरेर जीविको चलाउँदै आएको परिवारको आम्दानीको रुपमा रहेको फर्निचरसमेत घरसंगै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन विताईरहेको उनले सुनाइन् ।

अर्का स्थानीयबासिन्दा मैना तामाङले घर ढलेको पीरसंगै खल्लो गरी विताएको दशैं पर्व सकिए लगतै तिहार नजिक आएपनि घरबार र खाने कमाउने कुनै टुंगो नभएको सुनाइन् । 

सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थालेका छन् । यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकोमा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न गालेको उनले बताए । ‘बल्ल मान्छेहरुलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गरेर भल कटाउने ठाउँ बनाउन थालेको हुँ,’ उनले भने ।



दुई तले घर बगाएपछि विचल्लीमा रहेको शंकर तामाङ छिमेकीको घरमा बस्दै आएकी छन् । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात संघ संस्थाले वितरण गरेकोबाट चलाईरहेको उनी राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउँछन् ।

सोही गाउँका अर्का रविन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना वितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एक पटक पनि सोध्न नआएको गुनासो गरे । सबैचिज बगाएपछि बालबालिकाहरुको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उनको भनाई छ ।



स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए । ‘विपद्पछि उद्धार र राहतसंगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन,’ उनले भने, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनौट गरेर एकीकृत रुपमा बस्ने आवासको बस्ति व्यवस्थापन गर्न आवश्यक छ ।’  

  • प्रकाशित मिति : कात्तिक १६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया