logo-img

कतै देउसी भैलोप्रतिको आकर्षण बढ्दै, कतै घट्दै

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ ।

विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको हो ।  विगतका वर्षहरूमा बढिजसो बालबालिकाहरू मात्र देउसीभैलो खेलेको देखिने गरे पनि यसपटक भने पाका पुस्तासमेत दैनिक देउसीभैलोमा रमाइरहेका देखिन्छन् । 

पर्वत सदरमुकाम कुश्माबजारमा यसपटकको तिहारमा झण्डै ५० देखि ७० वटा समूहले देउसीभैलो कार्यक्रम गरिरहेका छन् । क्षेत्री समाज पर्वतले राहत कोष स्थापना गर्ने उद्देश्यले कात्तिक १४ गतेदेखि नै देउसीभैलो कार्यक्रम गरिरहेको छ । कुश्माबजारमा विभिन्न चोकमा मात्र नभएर वारीबेनी, डिमुवा, चुवालगायत स्थानमा समेत पुगेर देउसीभैली गरिएको समाजका सचिब गणेशबहादुर क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार विपद्लगायत समस्यामा परेकाहरूको सहयोगका लागि कोष स्थापना गर्न कार्यक्रम सञ्चालन गरिएको हो । क्षेत्री समाजले राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई समेत सहभागी गराएको छ । 

यस्तै, विभिन्न पार्टीका जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न उद्देश्य राखेर देउसीभैलो खेलिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विपन्न तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ देउसीभैलो कार्यक्रम गरिरहेको छ । देउसीभैलोबाट सङ्कलित रकमले आर्थिक अभावमा पढ्नवाट बञ्चित भएका विद्यार्थीलाई सहयोग गरिने सङ्गठनका सचिव सन्दिप नेपालीले जानकारी दिए । 

यसैगरी नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि देउसीभैलो कार्यक्रम गरेको छ । कोष स्थापना गर्नका लागि समाजले कुश्माबजारका विभिन्न चोकमा पुगेर देउसीभैलो कार्यक्रम गरेको संस्थाका सदस्य जीतबहादुर विकले जानकारी दिए । 



यसबाहेक विभिन्न आमा समूह, पर्यटन महिला समूह, बुहारी समूह, विद्यार्थीलगायतका संस्थाहरूले पनि देउसीभैलो कार्यक्रम गरिरहेका छन् । हाल कुश्माबजार र आसपासका ग्रामीण क्षेत्र देउसीभैलोका गीतले गुन्जयमान छन् । 
 
देउसीभैलोमा मौलिकता भने हराउँदै गएको छ । परम्परागत रूपमा भट्टाउने र देउसीरे भन्ने तथा गाउँ समाजका कथावस्तु देउसीरे मार्फत सुनाउने प्रचलन हटेको छ । आधुनिक साउण्ड सिष्टममा विभिन्न नेपाली लोक, पप तथा हिन्दी गीत समेतमा नाच्नाले मौलीकता हराउँदै गएको स्थानीय भोलानाथ शर्माले बताए । 

जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आपराधिक घटना न्यूनीकरण गर्न राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गर्दै राति ९ बजेपछि देउसीभैलोका कार्यक्रम गर्दा विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रोक लगाइएको उल्लेख गरेका छन् ।



तर, पर्वत नजिकैको जिल्ला बागलुङमा भने देउसी भैलो कम खेलिन थालिएको भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।  देउसी-भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक सुरु भएपछि बागलुङ बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ । भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ । 

तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र र्याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, र्याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् ।

निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित गरेको बताए । आफ्नो पालामा बाउबाजेले संरक्षण गर्दै आएको मौलिकतासहितको देउसीभैलो अचेल पश्चिमा संस्कृतिको चेपुवामा परेको उनको भनाई छ । भैलोको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने भए पनि हिजोआज देउसीमा विकृति मिसिएको र केवल पैसा जम्मा गर्नेमा मात्र ध्यान जाने गरेको भन्दै घर्तीले विरोध जनाए ।

‘जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए, हाम्रो पालको जस्तो देउसीभैलोमा मादले सिङ्गारु बनेर नाच्ने चलन अहिले छैन’, उनले भने, ‘हामी बुढाबुढी भइयो, गाउन नाच्न सकिन्न, अहिलेका युवाले पुरानो संस्कृति सिक्दैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित गर्यो ।’

गलकोट नगरपालिका–१० का पूर्णबहादुर घर्ती मगरले विदेशीको देखासिकीका कारण मौलिकता हराएको बताए । तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान नै गुम्ने खतरा बढेको उनको भनाई छ ।  

  • प्रकाशित मिति : कात्तिक १८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया