logo-img

यू-१९ विश्वकप छनोट : जित्नैपर्ने दबाबमा नेपाल, आज यूएईसँग भिड्दै

युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दै छ । अन्तिम खेलमा नेपालले आयोजक यूएईको सामना गर्न लागेको हो । 

नेपाल र यूएईबीचको खेल अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयअनुसार आज दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । 

यही २१ कात्तिकदेखि सुरु भएको प्रतियोगितामा नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ । एक खेलमा भने नेपाल पराजित भएको थियो । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो ।

तेस्रो खेलमा नेपाल घरेलु टोली यूएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको यूएईले पाँचै खेल जितेको छ । ऊ १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।



त्यस्तै, थाइल्याण्ड दुई अङ्कसहित तेस्रो र अंकविहीन कुवेत तालिकाको अन्तिममा छ । छनोट प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । 

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपालले विश्वकपमा स्थान बनाउन आजको खेलमा यूएईलाई हराउनुका साथै रन रेटमा पनि सुधार गर्नुपर्ने छ । 



आजको खेलमा नेपालले पहिले ब्याटिङ गरेमा २१ रन हाराहारीको जित निकाल्नुपर्ने समीकरण बनेको छ । यस्तै, यूएईले पहिला ब्याटिङ गरेमा नेपालले १६ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ ।  

  • प्रकाशित मिति : कात्तिक २८, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया