logo-img

जुम्ला पुगेर प्रधानमन्त्रीले भने- म खुसी व्यक्त गर्न चाहन्छु, कर्णाली अगाडि बढ्दै छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन्  । बुधबार प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए । 

प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र चुनौतीकाबीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकामा खुसी व्यक्त गरे । 

उनले दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिए । उनले भने,‘अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईँहरूको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । यस सफलतालाई दूर दराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस् ।’

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो, ‘म खुसी व्यक्त गर्न चाहन्छु, कर्णाली अगाडि बढ्दै छ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’ 

संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्राडा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहनुभएको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थीलाई दीक्षित भएका छन् ।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालगायत सहभागी थिए ।





  • प्रकाशित मिति : कात्तिक २८, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया