logo-img

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत १६ हजारको बीमा

मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा गरेको छ । मधेस प्रदेश सरकारको गौरबको आयोजनाअन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय कार्यक्रमअन्तर्गत सो बीमा गरिएको हो ।

मधेस प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार सो बीमाबापत ५९ करोड ७५ लाख खर्च भएको छ । आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा पछाडि परेका छोरीहरूको उत्थान तथा महिला सशक्तीकरणका लागि बीमा गरिएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जानकारी दिए ।

उक्त अभियानअन्तर्गत साइकल वितरण, छोरी शिक्षा बीमा, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनेटरी प्याड वितरण तथा छात्रवृत्तिको व्यवस्था गरिएको थियो । त्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु भएको सो अभियानअन्तर्गत छोेरी शिक्षा कार्यक्रम मात्र सञ्चालन भइरहेको छ भने अन्य कार्यक्रम प्रभावकारी नभएको गुनासो छ ।

यसैगरी छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत २०७८ साल माघ १ गतेपछि जन्मिएका प्रत्येक बालबालिकाको २० वर्षका लागि ३७ हजार चार सय ५७ ग्लोबल आईएमई बैंकमा मुद्दति खातामा बीमा गर्ने व्यवस्था गरिएको छ । बीमित किशोरीले २० वर्षपछि तीनलाख पाउने छन् । तर त्यसका लागि बीमित छोरीले कक्षा १२ सम्म अध्ययन गर्नुपर्ने प्रावधान राखिएको छ । विवाह २० वर्ष अगाडि गरेमा उक्त बीमा प्राप्त गर्न नसक्ने जानकारी दिइएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको सो कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनपछि २०७८ सालदेखि शिक्षा विकास निर्देशनालयले  सञ्चालन गर्दै आएको छ । साइकल वितरणमा अनियमितता भएपछि अहिले साइकल वितरण पनि रोकिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया