logo-img

राष्ट्रपति पौडेलद्वारा ‘नेपालका निधि’ पुस्तक लोकार्पण

२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनर्स्थापनाको आन्दोलनमा अग्रपङ्क्तिमा रहेका स्व. महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

वरिष्ठ पत्रकार किशोर नेपालले लेखेको उक्त पुस्तकलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा एक कार्यक्रमका बीच लोकार्पण गरेका हुन् । 

पुस्तक लोकार्पण गर्दै राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि सङ्ग्रहणीय सामग्री हुने बताए ।  

बिपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित रहेका महेन्द्रनारायण नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै राष्ट्रपति पौडेलले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे ।

‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रुढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ । राजनीतिक जीवनका अनेकौं उतारचढावका दिनमा मैले निधिजीलाई अन्त्यन्तै, धैर्यवान्, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु,’ राष्ट्रपति पौडेलले भने । 

उनले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो सर्त भएको पनि उल्लेख गरे । 



‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धूमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजीलगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु,’ राष्ट्रपति पौडेलले भने ।  



  • प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया