विचार
[प्रदीप पौडेलको विचार] जनजागरण अभियान कांग्रेस आफू जागेर जनता जगाउने अभियान हाे

नेपाली कांग्रेसले वैशाख २५ गतेदेखि देशभर जनजागरण अभियान सुरु गरेको छ । हामीले यो नयाँ काम गरेको होइन । यस्तो खालको अभियान हाम्रो पहिले पनि हुने गर्थ्याे । पार्टीले आफ्नो संगठन परिचालन गर्नका निम्ति विभिन्न प्रकृतिका कार्यक्रम गरिरहन्छ । त्यसअन्तर्गत जागरण अभियान सञ्चालन गरेका हौँ । जनजागरण किन आवश्यक पर्यो त भन्ने प्रश्न उठ्न सक्छ । 

नेपाली कांग्रेसले पछिल्लो आमनिर्वाचन हारिसकेपछि देशभरि हाम्रा साथीहरू निर्वाचनको गणितका कारणले निराश हुनुहुन्छ । निर्वाचन हार्नु या जित्नु एउटा प्रक्रिया हो । त्यसैले यो कुरालाई एकदमै महत्व दिएर धेरै निरुत्साहित भइरहनु आवश्यक छैन भनेर हाम्रा साथीहरूलाई आत्मविश्वास जगाउने विषय पहिलो भयो । दोस्रो विषयको कुरा गर्नुपर्दा, हाम्रो संगठनमा कार्यक्रम भएका छैनन् । यसले गतिशीलता हुँदैन । त्यसैले संगठनलाई कार्यक्रम दिएर गतिशील बनाउनका लागि जागरण अभियान गरेका हौँ । तेस्रो विषय, अहिले नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा के–के विषयलाई प्राथमिकता दिएको छ । राष्ट्रिय राजनीतिमा उठेका विषयलाई कुन दृष्टिकोणले हेरिरहेको छ भन्ने सन्दर्भ बुझाउनका लागि पनि जनजागरण अभियान आवश्यक महसुस गरिएको हो । प्रदीप पाैडेल

नेपालमा अहिले धेरै निराशाजनक स्थिति बनिरहेको छ । त्यो निराशाजनक स्थिति बढ्दै जाँदा संविधान नै खतरामा पर्न सक्ने संकेत देखिँदै छ । निराश हुने खालको परिस्थितिको दोषी संविधान होइन । संघीयता होइन । त्यसको मुुख्य दोषी केपी शर्मा ओलीको नेतृत्व हो । यो नेतृत्व नालायक छ । नेतृत्व नालायक भएका कारण त्यस्तो भएको हो । केपी ओली र नेकपाका नेताहरूले उहाँहरूले घोषणापत्रमा गर्नुभएको प्रतिबद्धताअनुसार सरकार चलाउन सक्नुभएन । उहाँहरूका अभिव्यक्ति अभिव्यक्तिमा मात्रै सीमित छ । बोल्नका लागि मात्रै बोलिरहनुभएको छ । त्यसलाई कार्यान्वय गर्ने पक्षमा उहाँहरूको कुनै पनि गम्भीरता देखिँदैन । त्यसैले राजनीति गफमा सीमित भएको छ । भाषणमा सीमित भएको छ । यो व्यक्तिसँग जोडिएको विषय हो । त्यस कारण यो कुराले निराश हुने होइन कि केवल नेतृत्वको विकल्प खोज्न आवश्यक छ । नेतृत्वको विकल्प कांग्रेसले दिन सक्छ । कांग्रेसले यो संविधान ल्याउने प्रक्रियाको नेतृत्व गर्यो । यही संविधानले नेपाललाई समृद्धिको बाटोमा लिएर जान्छ । तर, नेतृत्व कांग्रेसले गर्न आवश्यक छ भन्ने कुरा जनता समक्ष लिएर जानका निम्ति हामीले जागरण अभियान सुरु गरेका हौँ । 

दुईतिहाइको ओली सरकारले मर्यादा उल्लंघन गर्ने, संविधान उल्लंघन गर्ने जनविरोधी काम गरेको छ । सत्तामा हुनेहरूले दुईतिहाइ बहुमतलाई जुन रूपमा दुरुपयोग गरिरहेका छन, त्यसको भण्डाफोर गर्नका लागि पनि हामीले जागरण अभियान सुरु गरेका हौँ । संसद्मा हाम्रो गणित एकदमै थोरै भएकाले त्यहाँबाट सरकारलाई सच्याउने सम्भावना छैन । जनताका बीचमा गएर जनदबाब सिर्जना गरेर सरकारलाई सच्याउनुपर्ने  आवश्यकता देखेर हामीले जागरण अभियान सञ्चालन गरेका हौँ ।

हामीले सरकारको एक वर्ष हेर्यौं । कुनै पनि सरकारले आउनेबित्तिकै जादुको छडी देखाएर सबै काम गर्न सक्दैन । हामीले यो कुरा राम्ररी थाहा छ । हामी जिम्मेवार प्रतिपक्ष बन्नुपर्छ भन्ने उद्देश्य हो । घोषणापत्रमार्फत वर्तमान सत्तारुढ दलले महत्वाकांक्षा देखाएको थियो । असरकारमा पुगेपछि साँच्चै काम गर्ने गरी त्यो कुरा प्रस्तुत होला भन्ने हामीलाई लागेको थियो । त्यो त गफ गर्नका निम्ति, झुक्याउनका निम्ति गरिएको रहेछ । काम गर्ने समय पाउँदा पनि उहाँहरूले केही पनि काम गर्न सक्नुभएन । सरकारको यो काम गर्ने समय हो भनेर हामीले पर्खेर बस्यौँ । यति अवधिमै कुनै काम सुरु भएर सकिनुपर्छ भन्ने हाम्रो भनाइ होइन । तर, कुनै कामको सुरु त हुनुपर्यो नि ! यो सरकारले १४ महिनासम्म एउटा पनि नयाँ काम गरेन । त्यसकारण अब हामी जनताका बीचमा जानुपर्छ भनेर हामीले जागरण अभियान सुरु गरेका हौँ । 

यसलाई हामीले जनता जगाउने अभियानका रूपमा परिणत गर्नुपर्छ । कांग्रेस जागेर जनता जगाउने हो ।  सरकारले गरेको ज्यादतीविरुद्ध जनदबाब सिर्जना गर्न सुरु गरेका हौँ । यो अभियान शान्तिपूर्ण हुन्छ । रचनात्मक हुन्छ । जागरण अभियानमार्फत जनतालाई जगाउनु र सडकबाट दबाब दिएर सरकारले गरेका गलत कामलाई सच्याउनु हाम्रो उद्देश्य हो । 





  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार १७:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया