पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बिउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष पाल्पामा ३४ हजार सात सय ६२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष तीन दशमलव छ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए । गुणस्तरीय र उन्नत जातका बिउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उनले बताए ।
'केही स्थानमा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बिउको प्रयोग गर्नु, यसवर्ष पर्याप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो', प्रमुख चौधरीले भने ।
उनका अनुसार यस वर्ष जिल्लामा आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गत वर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो ।
गाउँगाउँमा स्थानीय, प्रदेश तथा संघीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिए । सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् ।
धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताइन् ।
'रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बिउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनुभएको छ', उनले भने ।
जिल्लामा सावित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बिउ उपलब्ध गराउन थालेपछि विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिकरूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।