नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत एवं भेटघाटमा उनले सिंहले पार्टी विधि र विधानअनुसार नचल्दा समस्या हुने गरेको बताए ।
सहरी विकासमन्त्री समेत रहेका सिंहले विधि र विधानअनुसार चलाउन सक्ने नेता वडा, टोल, प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म आवश्यक रहेको बताए । ‘पार्टीभित्रका हरेक समस्या समाधान गर्दै पार्टीलाई बलियो बनाउनुको विकल्प छैन । पार्टीभित्र समस्या छन्, त्यस्ता समस्यालाई समाधान गर्दै अगाडि बढ्ने हो,’ उनले भने ।
आफू जहिल्यै पनि पार्टीको सुधार अभियानमा लागिपरेको बताउँदै सिंहले पार्टीमा समस्या छ मात्रै भन्ने तर सुधारको बाटो नदेखाउने परिपाटी रहेको बताए । ‘पार्टीभित्र यो भएन, त्यो भएन मात्रै भन्ने जमात पनि छन् । त्यस्तो भनेर मात्र हुँदैन । के गर्न सकिन्छ त्यसका लागि मार्गनिर्देशसमेत गर्न सक्नुपर्छ,’ सिंहले भने ।
नेपालका हरेक कठिन अवस्थामा कांग्रेसले नेतृत्व लिँदै आएको बताउँदै सिंहले भने, ‘कांग्रेसकै नेतृत्वमा जनआन्दोलन सफल भयो । कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो ।’
उनले अहिले देशमा देखिएको समस्याको समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।