काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रूपमा सूचीकृत छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको तथ्यांकले देखाउँछ ।
२०७४ सालदेखि काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँच गरेर अभियान सुरु गरेका थिए । जसअन्तर्गत वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेको प्रदूषण परीक्षणमा उत्तीर्ण भएपछि मात्र गाडीमा हरियो स्टिकर लगाउने मापदण्ड बनाइएको थियो ।
परीक्षणमा असफल हुने सवारीसाधनमा रातो स्टिकर र रातो स्टिकर भएका सवारीसाधनलाई उत्सर्जन मापदण्ड पूरा गर्न ट्युन गर्नुपर्ने व्यवस्था छ । तर, वायु प्रदूषणका कारण यस्तो भयानक अवस्थाबाट गुज्रिरहेको काठमाडौंमा ग्रीन स्टिकर टाँसेर पनि अत्यधिक मात्रामा धुवाँ फालेर गुडिरहेका गाडी छ्यापछ्यापी देख्न पाइन्छ ।
नाम मात्रको अभियान !
अहिले शहरको प्रत्येक प्रमुख स्थानमा उच्चतम प्रदूषणको रेकर्डको साथ जाँचका लागि बसे पनि अत्यधिक धुवाँ फालेर गुडिरहेका सवारीलाई कुनै कारबाही गरिसकेको पाइँदैन । सम्बन्धित निकायले पनि सवारीसाधन चेकजाँच गर्ने र नियम पालना नगर्नेलाई कारबाही नगरेको गुनासो आउने गरेका छन् ।
प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सुरु भएको यो अभियान नै असफल भएको विश्लेषण गरिएको छ । सवारीसाधन प्रदूषण ऐन, ०५४ ले राजधानीमा धेरै प्रदूषण गर्ने सवारीसाधनलाई सिंहदरबारदेखि पुतलीसडक चोक हुँदै कमलादी चोकसम्म, एयरपोर्ट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दरबारमार्ग र नारायणहिटी दरबार क्षेत्र, महानगरपालिका, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा अत्यधिक धुवाँ निकाल्ने सवारीलाई प्रवेशमा रोक लगाइएको छ । तर, राजधानी भित्रिने हजारौं सवारीसाधनमा भने प्रदूषण जाँच हुँदैन ।
त्यसैले पनि सरकारले सवारीसाधनको प्रदूषण जाँचलाई प्रभावकारी बनाउन नसकेको यात्रुको गुनासो छ । तर, प्रदूषण जाँच केही समय बन्द भए पनि मंसिरदेखि हप्तामा दुई दिन प्रदूषण जाँच र कारबाही थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौंमा उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन कार्कीले निश्चित सडक वा मार्गमा दिनमा २० देखि ५० वटा गाडी चेकजाँज गर्नेक्रममा र १० देखि १२ वटा गाडी प्रदूषण फेल भएको भेटिएको जानकारी गराए ।
‘मंसिर महिनादेखि हप्तामा दुई दिन प्रदूषण जाँच र कारबाही हुन्छ । निश्चित बाटो वा सडकका स्थानमा बसेर चेकजाँच गर्छौँ । दिनमा २० देखि ५० वटा गाडीहरू चेकजाँच गरिन्छ, जसमा १० देखि १२ वटा गाडीहरू प्रदूषण फेल भएको भेटिएको थियो,’ उनले भने ।
स्रोतसाधन अभाव
वातावरण विभाग र ट्राफिक प्रहरीबीचको समन्वयमा जाँच गर्ने व्यवस्था भएता पनि ट्राफिकलाई छुट्टै प्रदूषण जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराएको छैन । आवश्यक उपकरण वा यन्त्रको अभावमा प्रदूषण चेकजाँच प्रभावकारीरूपमा सञ्चालन गर्न नसकेको ट्राफिक प्रहरीले स्वीकार्ने गरेका छन् ।
विभागले जहाँ भन्छ त्यहाँ मात्र ट्राफिक जानुपर्ने अवस्थामा रहेको र यसमा विभागको सक्रिय सहभागितामा नहुँदा सवारी प्रदूषण जाँचलाई प्रभावकारीरूपमा अगाडि बढाउन नसकेको उनको गुनासो छ ।
‘यसको प्रतिनिधित्व गर्ने वातावरण विभागले नै हो । हामीले उहाँहरूको समन्वयमा चेकजाँच गरिएको छौं । केही समयदेखि चेकजाँच रोकिएको अवस्थामा थियो । यसमा वातावरण विभागको सहभागिता हुनैपर्छ । हामीसँग टेस्ट गर्ने मेसिन नै छैन । त्यो वातावरण विभागसँग मात्रै छ । हामीले चाहेर मात्र जाँच गर्न जान सक्ने अवस्था नै छैन । विभाग नै सक्रिय हुनुपर्ने हो तर त्यो खासै देखिँदैन,’ डिएसपी कार्कीले भने ।
वातावरण विभागमा निरीक्षक गोविन्दप्रसाद लामिछाने भने ट्राफिक र विभागबीचको समन्वयमा सवारी प्रदूषण जाँचलाई प्रभावकारीरूपमा अगाडि बढाएको दाबी गर्छन् ।
‘हामीले राम्रोसँग ट्राफिकसँगको समन्वयमा नै ठाउँ ठाउँमा चेक जाँच गरिराखेको छौं । प्रभावकारी रुपमा नै अनुगमन र चेकजाँचको काम गरिरहेको छौं । त्यही स्टिकर टाँसेको तर अत्यधिक धुवा फालिरहेको गाडीहरूको हकमा पनि हामीले नियन्त्रण गरिरहेको छौं । उपकरण कै कारणले कुनै त्यस्तो समस्या छैन,’ उनले भने ।
लामिछानेले डिजेल सवारी साधनको हकमा घनत्व ६५ एचएसओ मापदण्ड रहेको भन्दै त्यो भन्दा बढि धुवाँ फाल्ने गाडि चाहिँ जाँचमा फेल हुने जानकारी दिए । साथै, पेट्रोलबाट चल्ने सवारीको हकमा कार्बन मनोअक्साइड र हाइड्रो कार्बनको मापदण्ड रहेकोमा अहिले विभागले डिजेललाई नै फोकस गरेको पनि बताए ।
‘डिजेल सवारीसाधनको हकमा घनत्व ६५ एचएसओ छ । मापदण्ड त्यो भन्दा बढि धुवाँ फाल्ने गाडी चाहिँ फेल हुन्छ । हामी छड्के जाँच गरिरहेका छौं । पेट्रोलबाट चल्ने सवारीको हकमा कार्बन मनोअक्साइड र हाइड्रो कार्बनको मापदण्ड छ । अहिले हामीले डिजेललाई नै फोकस गरेको छौं,’ लामिछानेले भने ।
प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले सवारी प्रदूषण जाँचको अभियान सञ्चालन गरेको भए पनि नागरिक आफैं सचेत हुनुपर्ने उनी बताउँछन् ।
‘हरियो स्टिकर टाँसेको र त्यसको मिति पनि छ । तर, अत्यधिक मात्रामा धुवाँ फालेको छ भने त्यस्तो अवस्थामा भेटायौँ भने सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउने अथवा लापरबाहीको कारवाही गरिरहेका छौँ । ग्रीन स्टिकर टाँसेर पनि धुवाँ अत्यधिक फालिरहेको छ । गाडीले भने त्यो त नागरिक नै सचेत हुनुपर्ने हो नि ट्राफिकले जाँच गरेन भने पनि ग्रीन स्टिकर छ भनेर चुप लागेर हिँड्ने त सचेत नागरिक नै भएन नि,’ विभागमा निरीक्षक लामिछानेले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।