सिराहाको गोलबजार नगरपालिका–२ र ३ का १ सय २० जना दलित मुसहर समुदायका मजदुरलाई भारतको श्रीनगरमा आठ महिना बन्धक बनाउँदै काम लगाएर ज्याला नदिइ घर फर्काइएको छ ।
पीडितहरूले भनेअनुसार, ‘श्रीनगर पुर्याएर बन्धक मात्र बनाइएन, एक छाक मात्र खान दिएर कठोर श्रममा लगाइयो । मोबाइल खोसेर घर परिवारसँग सम्पर्कविहीन बनाइयो । खाना र ज्याला माग्दा कुटपिट र यातना दिइयो । आठ महिनापछि प्रति व्यक्ति दुई हजार गाडी भाडा दिएर घर फर्काइयो ।’
गत कार्तिक महिनामा मुसहर मजदुरहरू हाडछाला मात्र लिएर खाली हात घर आइपुगे । घर फर्केका अधिकांश मजदुरहरू बिरामी परेर थला परेको अवस्थामा आइपुगेका थिए । दुई महिनाको उपचार र खानपिनपछि उनीहरू तङ्ग्रिएका छन् । अहिले उनीहरूले न्याय माग्दै वडा कार्यालय, नगरपालिका र इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् ।
मुसहर मजदुरहरूले गाउँमा फर्केर सामाजिक छलफल राखेर हरिचन सदासँग ज्याला मागेका थिए । उनले १५ हजार महिनाका दरले ज्याला उपलब्ध गराउने समाजमा वचनबद्धता प्रकट गरे । तर, तोकिएको भाकामा ज्याला नदिएपछि पीडित मजदुरहरूले ज्यालाको मागसहित मानव बेचबिखनमा उजुरी दिए । अहिले हरिचन र उनका सम्धी फरार छन् ।
घटना २०८० चैत महिनाको हो । गोलबजार नगरपालिका वडा नम्बर ३ कै हरिचन सदा र नातामा उनको सम्धी पर्ने अर्का एक जनाले अपरिचित थप दुई जना व्यक्तिहरू लिएर गाउँमा आए ।
उनीहरू थिए दिल्ली धमला र अर्का एक नाम नखुलेको भारतीय ठेकेदार । चार जनाले वडा नम्बर ३ भाङ्गबारी र २ का नवटोली गाउँका मुसहर समुदायलाई जम्मा गरेर बैठक गरे । ज्याला दैनिक ११ सय उपलब्ध गराउने लोभ देखाए । भवन निर्माण कार्यका लागि आकर्षक ज्याला दिने प्रस्ताव गरेपछि दुई गाउँका एक सय २० जना दलित मुसहर समुदायका मजदुरहरू भारतको श्रीनगर जान राजी भए ।
पीडित विनोद कुमार सदा भन्छन्,‘रक्सी र मासु पनि खुवाए । चार हजार गरी जनही पेस्की पनि दिए । गाउँकै हरिचन सदा र उनका सम्धी (नाम नखुलेका) जमानी बसे । गाउँकै हरिचनले जनही मासिक ३३ हजार ज्याला महिना पुग्नासाथ दिने भनेर ग्यारेण्टी लिएपछि श्रीनगर जान तयार भयौँ । लौकहा नाकाबाट रेल चढाएर श्रीनगर पुर्याए ।’
पीडित राजिन्द्र सदाको कुटपिटका कारण दुवै आँखामा चोट छ । उनले नेपाल फर्केर आँखा उपचार गइरहेका छन् । उनी भन्छन्,‘ठेकेदारले बस रिजर्भ गरेर ल्याए । चैत २०८० मा पहिलो लटमा ४० जना गयौँ । दोस्रो पटक वैशाखमा फेरि ४० जना गयौँ र जेठमा पनि ४० जना गयौँ । तर जे सपना देखाएर लगिएको थियो त्यहाँ पुगेपछि ठीक उल्टो भयो । श्रीनगर साइटमा पुग्नासाथ पहिले हाम्रो मोबाइल फोन खोसियो । एउटा कम्पाउण्डमा बन्दी जस्तै बनाइयो । त्यहाँबाट बाहिर निस्कन दिइएन । भवन निर्माण कार्यमा दैनिक १२ देखि १४ घण्टासम्म भोक भोकै काम गराए ।’
त्यसतै पीडित वीरेन्द्र सदा भन्छन्, ‘दिनभरि १२/१३ घण्टासम्म काम लगाउँथे । विश्राम गर्न दिँदैनथे । खान एक छाक मात्र दिन्थे । आठ महिनासम्म मिठो र पेट भरी कहिल्यै खान पाएनौँ । खाना र ज्याला माग्नसाथ कुटपिट गर्थे । घरमा फोन गर्दा सुरक्षा गार्ड अगाडि उभिएर सीमित मात्र शब्द बोल्न दिन्थे । राम्रो छ भनेर फोनमा बोल्न लगाउँथे । पिटाइको डरले जे जे भन भन्यो त्यही बोल्थ्यौँ ।’
पीडित मजदुर अनिरुद्ध सदा भन्छन्,‘गत कार्तिक महिनामा म त्यहाँबाट भाग्न सफल भए । माग्दै खाँदै रेलमा बिना टिकट यात्रा गर्दै घर आइपुगेँ । गाउँमा आएर त्यहाँको पिटाइ कुटाई र ज्याला नदिएको सुनाएपछि हरिचन सदालाई गाउँलेले र्याखर्याख्ती बनाए । त्यसपछि हरिचनले फोन गरेर इण्डियन ठेकेदारलाई भनेपछि जनही दुई हजार गाडी भाडा दिएर सबैलाई फर्काइयो । मंसिरको अन्त्यतिर सबै जना घर फर्किन पाए ।’
‘हामीले सरदर ६ देखि ८ महिना नर्क भोगेर आयौँ । खप्नुसम्म यातना खप्यौँ । कुटपिटबाट कसैको औँला भाँच्चिएको छ । कसैको पिठ्युँ भरी नीलडाम छ,’ यति भन्दै भाँच्चिएका औँला देखाएर विवेक सादले आँसु झारे ।
उनकी आमा जलास सदा भन्छिन्,‘छोरा कमाउन गएको छ । पैसा लिएर आउँछ भन्ने आशा थियो । तर मेरो छोराको सास मात्र आइपुगेको थियो । मैले दुई महिना औषधी उपचार गराएँ । बल्ल हिँडडुल गर्न सक्ने भएको छ ।’ पीडित सुन्दर सदा भन्छन्,‘मेरो पिठ्युभरी अझै नीलडाम छ । धेरै कुटाई खाइयो ।’
मुसहर समुदायका अगुवा व्यक्तित्व अयोधी सदा भन्छन्, ‘एक सय २० जनाको सरदर सात महिनाको बोलकबोल अनुसार मासिक ३३ हजारका दरले पौने तीन करोड ज्यालाको रकम बेइमानी गरिएको छ । त्यसमाथि कुटपिट र यातना दिइएको छ । अन्यायको सीमा छैन । तर गरिब दलित मुसहरको व्यथा कसले सुन्ने ? हरिचन सदा भागी भागी हिँडेका छन् । प्रहरीले वास्ता गरेको छैन । वडा कार्यालय र नगरपालिकाले पनि न्याय दिलाउन कुनै पहल गरिदिएको छैन ।’
अर्का मुसहर अगुवा मनोज सदा भन्छन्,‘एकाबिहानै हाम्रो गाउँमा सारा मुसहर समुदाय जम्मा हुन्छौँ । कसरी न्याय पाउने भनेर चिन्ता गर्छौ । हरेक घरमा अनिकाल छ । आठ महिनाको श्रम खेर गएको छ । भरे साँझ के खाने भन्ने चिन्ता छ । श्रीनगरबाट फर्किएकाहरू अझै काम गर्न सक्ने गरी तङ्ग्रिएका छैनन् । पुर्पुरोमा हात राखेर भाग्यलाई सराप्दै बस्दै गरेका छौँ ।’
वडा नम्बर ३ का वडाध्यक्ष धन प्रसाद लामा भन्छन्, ‘आजै मात्र मलाई सविस्तार घटना सुनाएका छन् । रीतपूर्वक निवेदन दिन भनेको छु । निवेदन आउनासाथ पीडित मुसहर मजदुरलाई न्याय दिलाउन सक्दो सहयोग र प्रयास गरिने छ ।’
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहका अनुसार मजदुरहरूलाई श्रीनगर लैजाने मध्येका हरिचन सदा नै बर्दिबासका मान्छेले ठगी गरेर झुक्क्याएर मजदुर भारततर्फ लगेको भन्दै उजुरी दिन आएका थिए । ‘हामीले घटनाबारे सूचना पाएका छौँ तर रीतपूर्वक निवेदन आएको छैन । निवेदन आएपछि कानुनी कारबाही थाल्छौँ,’ साहले भने ।
राराताजब क्याम्पस गोलबजारका उपप्राध्यापक प्रदीप साह भन्छन्, ‘भारतीय ठेकेदारहरू नेपालमा आएर दलित गरिबलाई आकर्षक तलब दिने प्रलोभन दिएर दिल्ली, पन्जाब, कस्मिरलगायत दक्षिण भारतमा काम गर्न लैजान्छन् तर फर्किने बेलामा ज्याला नदिई फिर्ता पठाउँछन् । यस्ता मानव बेचबिखन र ठगीका घटना बाक्लै भइरहेको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।