[ब्लग] यसो गरौँ, सम्बन्ध सुमधुर बनाऔँः आस्था राउत, गायिका

अहिलेको समयमा आएर सम्बन्धबारे विभिन्न समस्याहरु सुन्न सकिन्छ, सम्बन्धहरु लामो समय चल्न नसकेका घटनाहरु बाहिर आएका हुन्छन् । कतिसम्म भने अहिले हाम्रै समाजमा पनि श्रीमान्ले श्रीमतीलाई विश्वास नगर्ने वा श्रीमतीले पनि श्रीमान्सँगको सम्बन्धमा केही आशङ्का गर्ने प्रचलन बढेको छ । 

मलाई त लाग्छ, इमान्दारी नै सम्बन्धको सबैभन्दा ठूलो कडी हो, जोडन हो । इमान्दारी भयो भने एकआपसको सम्बन्धमा धेरै समस्या हल आफैं भइहाल्छ, समस्याहरु आफैं निवारण हुन्छन् । अनेस्टी त्यसैले राम्रो सम्बन्ध कायम गर्न अत्यन्त आवश्यक हुन्छ । अनेस्टीमा फेरि जोडिन सक्छन् दुई कुरा, एउटा पारदर्शी र अर्को समझदार । 

कुनै पनि सम्बन्ध दिगो होस् भन्ने चाहना छ भने यी महत्वपूर्ण हुन्छन् । एउटा उदाहरणका लागि नै हामीले श्रीमान्–श्रीमतीको कुरालाई लिन सकिन्छ । श्रीमतीले कहाँ हो भनेर सोध्दा श्रीमान्ले आफू भएको ठाउँ नै भन्दा जति राम्रो हुन्छ, विस्तारै वाहना बनाउँदै जाँदा झन् नराम्रो मोडमा सम्बन्ध पुग्छ । अफिसमा छु भनेर श्रीमानहरु घुम्न गएको, साथीहरुसँग बाहिर रहेकोजस्ता घटनाहरु बारम्बार बाहिर आएका हुन्छन् । यस्तै केस श्रीमतीहरुको सन्दर्भमा पनि हुनसक्छ । 

त्यसैले श्रीमान र श्रीमती दुवै एकअर्कासँग समर्पित र पारदर्शी, इमान्दार र समझदार भएमा यो सम्बन्ध दिगो हुन्छ । अन्यथा एउटा झुट बोल्न अर्को झुट कल्पना गर्दै जानु पर्ने हुन्छ । अनि यस्तै झुटहरुले सम्बन्ध कमजोर बनाउँदै लैजान्छन् । 

सम्बन्ध राम्रो बनाउने अर्को कडी भनेको विश्वास हो । हामीले जसलाई विश्वास गर्छौ, उसँग राम्रो सम्बन्ध बनाउनु पर्ने छ भने उसँगको विश्वास पनि कायम राख्न सक्नुपर्छ । तेस्रो व्यक्ति कसैले केही भनेको भरमा हामीले सम्बन्ध विस्तार भइसकेका व्यक्तिमाथि शंका गर्न छोड्नु पर्छ ।

यो शंकाको वातावरण जतिसक्दो छिटो अन्त्य हुनु पर्छ । एकअर्काप्रति माया र विश्वास भयो भने सम्बन्ध टिकाउ हुन्छ । हुन त मानिसहरु सम्झौता गर्नु पर्छ भन्छन्, तर सम्झौताको भाव के हो भनेर पनि हामीले पहिले नै बुझ्नु पर्ने हुन्छ । सम्झौता त त्योसँग मात्र गर्न सकिन्छ जसलाई हामी माया गर्छौँ, माया गर्न सक्छौँ । 



आजभोलि अभिभावकहरु आफ्नो सन्तानको खुसी, भविष्यका लागि भनेर दिन रातभर काम गर्छन् । उनीहरु यतिसम्म व्यस्त हुन्छन् कि आफ्ना सन्तानका लागि समय नै हुँदैन । खासमा यसले अभिभावक र सन्तानको सम्बन्धमा ठूलो असर गर्छ, भोलि सम्मका लागि बलियो हुनुपर्ने यो सम्बन्ध बीचैमा तोडियो भने त्यसको कुनै अर्थ हुँदैन । त्यसैले एउटा अभिभावकले आफ्ना सन्तानलाई वर्तमानको सम्बन्धको कडीमा राखेर हुर्काउनु पर्छ ।

जीवन भनेको चलायामान हुन्छ । त्यसैले एउटा व्यक्तिले आफ्नो जीवनकालमा धेरै व्यक्तिसँग सम्बन्ध बनाउनु पर्ने हुन्छ । सबैसँगको सम्बन्ध मिलाएर अगाडि बढाउन सकेमात्र मानिसले जीवनमा आशा गरेको सफलता पाउँछ । यसलाई विशेष महत्व दिनु नै आजको आवश्यकता हुन्छ, महत्व दिनुपर्छ । 



  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार २०:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया