सरकारी विद्यालयमा विद्यार्थी चाप धान्नै गाह्रो

रामेछाप– सदरमुकामको मन्थली माध्यमिक विद्यालयलाई विद्यार्थी धान्नै गाह्रो भएको छ । अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेपछि विद्यार्थी संख्या बढेको हो ।

प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको यस विद्यालयले माध्यमिक तहमा भने अंग्रेजी र नेपाली माध्यममा पढाइ सञ्चालन गरेको छ । यस वर्ष शिशुदेखि १० कक्षासम्म १ हजार १ र ११ र १२ कक्षामा ६ सय ५० भन्दा बढी विद्यार्थी छन् ।

पहिला अधिकांश विद्यार्थी अंग्रेजी विषयमा फेल हुन्थे । अंग्रेजी राम्रो भएन भन्ने अभिभावकको गुनासो थियो । अंग्रेजी भाषामा समस्या भएकै कारण अभिभावकहरुले छोराछोरीहरुलाई निजी विद्यालयमा भर्ना गरेका थिए । तर सामुदायिक विद्यालयले नै अंग्रेजी माध्यमबाट पढाउन लागेपछि विद्यार्थीहरु निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।

‘सबैभन्दा पहिला हामीले शिशु कक्षाबाट अंग्रेजी भाषामा पढाइ सुरु गर्‍यौं । अहिले शिशु कक्षादेखि ३ कक्षासम्म पूर्ण रुपमा अंग्रेजी भाषामै पठनपाठन हुन्छ । ४ कक्षादेखि १० कक्षासम्म अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ हुने गरेको छ, विद्यालयका शैक्षिक प्रमुख चन्द्रसिंह धामीले भने ।

४ कक्षाबाट १० कक्षासम्म अंग्रेजी भाषामा पढ्न चाहनेको लागि छुट्टै सेक्सन छ । नेपालीमा पढ्न चाहनेका लागि छुट्टै सेक्सन । अहिले अंग्रेजी भाषामा पढ्ने विद्यार्थीको संख्या आधाभन्दा बढी छ ।

२०१२ असोज १२ गते मन्थलीको बरको बोटको चौतारोबाट सुरु भएको सो विद्यालयले २०३५ सालमा निमाविको स्वीकृति पायो । सोही बेला बनाएको विद्यालयको कच्ची भवन २०४५ सालमा रामेछापबाट सदरमुकाम मन्थली सरेपछि सरकारी कार्यालयले कब्जामा लिए । त्यसपछि सानीमदौ वन उपभोक्ता समूहले दिएको ५० रोपनी जग्गा र स्याउलाले बारेको छाप्रोबाट सो विद्यालयमा पढाइ सुरु भएको हो ।



अहिले विद्यालयमा भौतिक रुपमा पनि आमूल परिवर्तन भएको छ । पक्की भवन नै चारवटा छन् । यसबाहेक थुप्रै ब्लक भवन पनि बनेका छन् । मन्थली माविकै छानोभित्र शिशुदेखि १० कक्षासम्म अंग्रेजी र नेपाली विषयमा पढाइ हुन्छ ।

११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकी विषयको पढाइ हुन्छ । अनि प्राविधिकतर्फ १८ महिने सिभिल सबओभरसियर, १८ महिने इलेक्ट्रिकल सबओभरसियर, तीनवर्षे सिभिल डिप्लोमाको पढाइ हुन्छ ।



यही छानोमुनि बीबीएस, बीएड, बीए र एमए (नेपाली) तथा इपीएमको पनि पढाइ हुन्छ । मन्थली माविसँगै सहकार्य गरी स्थापना भएको मन्थली पोलिटेक्निकले कृषि विषयको तीनवर्षे बालीविज्ञान डिप्लोमा पढाइरहेको छ ।

यस वर्ष विद्यालयमा विद्यार्थीका चाप बढेपछि विद्यार्थीहरुको प्रवेश परीक्षा लिएर भर्ना गरिएको शैक्षिक प्रमुख धामीले बताए । विद्यालयमा विद्यार्थीको कोटा अनुसारको भर्ना सकिएकोले अब नयाँ विद्यार्थी लिन सकिने अवस्था नरहेको उनले बताए ।

  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १५:३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया