काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रूपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको बताएका छन् । शनिबार रिपोर्टस क्वल नेपालले गरेको साक्षात्कार कार्यक्रममा गजुरेलले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेको कुरा हो । उहाँहरू दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भैसकेको छ ।’
अब प्रचण्ड प्रधानमन्त्री बन्ने बताउँदै दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘अब पार्टीभित्र कार्य विभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’–उनले भने ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ । उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए ।
उनले भने, ‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ ।’
यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ । तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे । उनले भने, ‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन ।’
त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो । उनले भने, ‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।