खार्तुम– सुडानको राजधानी खार्तुमस्थित सैन्य मुख्यालयबाहिर धर्ना बसेका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा सोमबार ३५ जनाको ज्यान गयो भने सयौँ प्रदर्शनकारी घाइते भए ।
घटनापछि विश्वभर सुडानी सेनाको चर्को आलोचना भइरहेको छ । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति दुःख प्रकट गर्दै सैन्य दमनको निन्दा गरेका छन् ।
यसैबीच, मंगलबार सेनाले प्रदर्शनकारीहरुसँग सहमति भएको बताउँदै ९ महिनाभित्र चुनाव गराउने घोषणा गरेको छ । लेफ्टिनेन्ट जनरल अब्देल फत्ताह अल–बुरहानले सैन्य परिषद्ले आन्दोलनरत अलायन्स फर फ्रिडम एन्ड चेन्जसँग वार्ता बन्द गर्ने फैसला गरेको र ९ महिनाभित्र आम निर्वाचन गराउन सहमति जनाएको बताएका छन् ।
यी प्रदर्शनकारीले राष्ट्रपति उमर अल–बसिरलाई सत्ताबाट हटाउन सेनालाई साथ दिएका थिए । झन्डै ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति बसिरविरुद्ध प्रदर्शन चर्किएपछि गत अप्रिलमा सेनाले उनलाई अपदस्थ गरेको थियो । तर, बसिरलाई हटाएर लोकतान्त्रिक शासन ल्याउन चाहेका जनताले उल्टो सैन्य शासन भोग्नुपर्ने भयो । त्यसैले, सत्ता परिवर्तनपछि पनि उनीहरुले प्रदर्शन जारी राखे ।
जनरल अल–बुरहानले सोमबार मारिएका प्रदर्शनकारीलाई ‘सहिद’ भन्दै हिंसाप्रति अफसोस जनाएका छन् । यद्यपि, उनले घटनाका लागि सेना जिम्मेवार रहेको सोझो स्वीकारोक्ति भने दिएनन् । सोमबारै महान्यायाधिवक्ता मौलाना अल–वादिल सइद अहमद महमुदले घटनाको जाँचबुझका लागि समिति बनाएको घोषणा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।