[टिप्पणी] द्वारिकलाललाई किन कारवाही गर्दैन नेकपा ?

केही दिनअघि बेलायतको औपचारिक भ्रमणमा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानीको आँगन टेक्दानटेक्दै एउटा अभिव्यक्ति दिए, लन्डनका मेयरविरुद्ध । लन्डनमा ट्रम्पको भ्रमणको विरोध गरिएको थियो । स्वभावैले पनि ट्रम्पलाई यो कुरा पाच्य हुने भएन; उनी आफूविरुद्ध केही सुन्नै सक्दैनन् । अनि उनले यसमा लन्डनका मेयर सद्दिक खानलाई दोषी देखे । 

खानले त्यसपछि प्रतिक्रिया दिए– ट्रम्पले भनेका कुराले मलाई केही असर गर्दैन, उनी ११ वर्षे बालक झैं लाग्छन् ।

एउटा मेयरको यही भनाइले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणमा अन्तर्राष्ट्रिय मिडियामा यो विषय निकै छायो । बेलायतमा ट्रम्पको विरोध गर्नेहरुले खानको भनाइलाई समर्थन गरे । ट्रम्पलाई समेत चुनौति दिने हिम्मत बोकेका मेयर भएकाले खानको चर्चा अहिले बेलायतभर भएको छ । 

हाम्रो इटहरी उपमहानगरपालिकामा पनि पत्रकारलाई सिधासिधा चुनौति दिएका मेयर द्वारिकलाल चौधरी पनि चर्चित भइसकेका छन् । खानको त्यो चर्चाले उनलाई सकारात्मक असर पारिरहेको छ, तर यता द्वारिकलालको चर्चाले उनलाई झन्झन् कमजोर बनाउँदै लगेको छ । उनी सामाजिक सन्जालमा भाइरल भएका त छन् तर जे गर्नु पर्ने हो, त्यो गरेर होइन । एउटा नेताले जे नगर्नु पर्ने हो, उनी त्यही गरिरहेका छन् । जे गर्नु हुँदैन, त्यसमा उनी आफ्नो विजय देखिरहेका छन् । 

स्थानीय तहमा निर्वाचित एउटा प्रतिनिधिबाट जनताले धेरै आश गर्छन् । उसलाई आफ्नो मान्छे मानेका हुन्छन् । गाउँ, टोल र छरछिमेकका ससाना उत्सवमा उनीहरुको प्रतिनिधित्व होस् भन्ने चाहन्छन्, ससाना दुःखलाई उनीहरुले सम्बोधन गरुन् र सहज बनाइदिउन् भन्ने चाहन्छन् ।

तर, इटहरीका मेयर द्वारिकलालले त सार्वजनिक रुपमा नै पत्रकारलाई भनेका छन्– तेरो नाकको डाँडी भाँचिदिन एक करोड र एउटा घडेरी छुट्ट्याएको छु । 



एउटा मेयर त आफ्नो क्षेत्रमा सानो दुर्घटनामा परेर अस्पताल भएकाहरुकालाई मल्हम लगाउन पुग्नु पर्ने हो, एउटा मेयर त गाउँमा भएका वृद्धवृद्धाहरुको टेको बन्न पुग्नु पर्ने हो । तर, इटहरीका यी मेयर अर्कै प्राणी रहेछन् । उनी त समाजमा उनीमाथि प्रश्न उठाउनेलाई सकाइदिने धम्की दिँदै हिँडिरहेका छन् ।

आफूले पाउनु पर्ने आधारभूत आवश्यकता पूरा नभएकाले विक्षिप्त मनहरुलाई स्थानीय प्रतिनिधिले भरथेग गर्ने प्रयास गर्नुपथ्र्यो, कम्तिमा पनि विकास भनेको के हो भन्ने आभास गराउन सक्नुपथ्र्यो । तर, यी मेयरले आलो घाउमाथि नुन छर्किएका छन्, भनेका छन्– हिजो माओवादीले पनि कानुन हातमा लिएको थियो, मैले अहिले लिँदा केको आपत्ति ?



द्वारिकलालको विगत हेर्ने हो भने उनलाई जनताको प्रतिनिधिले के गर्नुपर्छ भनेर सिकाइरहनु पर्ने जरुरत छैन । तर, यत्तिकै छोडिदिने हो भने लामो समय वडा अध्यक्ष भएर लोकप्रिय भएका द्वारिकलालजस्ता पात्रले नेपाली सपना र चाहनामाथि खुँडा प्रहार गरिरहने छन् ।

द्वारिकलालमा अब जंगीपन देखिइसकेको छ । उनको यो आक्रामक अभिव्यक्तिको शृङ्खला अहिले नरोक्ने हो भने यसले समाजलाई थप हानी पुर्याउँदै लैजान्छ । अहिले उनले जुन तान्डव देखाएका छन्, यसलाई समयमा नै नरोक्ने हो भने भोलिको अवस्था अकल्पनीय हुनेछ । मानौँ, उनी जे बोलिरहेका छन्, सही बोलिरहेका छन् । यसलाई मान्ने हो भने भोलि मिक्वाखोला, धार्चे गाउँपालिका, थाहा, मध्यनेपाल नगरपालिकाहरुमा यस्तै परिस्थिति त्यहाँका प्रमुखले नबनाउलान् भन्न सकिन्छ र ?

केही समयअघि समग्र देश नेपालका इकाइका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निकाय तथा सरकारलाई चित्रण गरेका थिए । उनको भाषालाई मान्ने हो भने उनको सरकारको एउटा इकाइका प्रमुख द्वारिकलाल अहिले होसहवास हराएजस्ता देखिएका छन् । के सरकारले यसबारे सोच्नु पर्दैन ? के द्वारिकलाललाई उनको पार्टी नेकपाले कारवाही गर्नु पर्दैन ? कि अहिले नेकपा द्वारिकलालका अभिव्यक्ति सुनिरहेको छैन, कतै बाँसुरीको सुरतालमा रमाइरहेको छ ? जनताले प्रश्न खोजेका छन्, सत्तामा हुनेहरुले नर्बिसिउन्, उनीहरु जवाफ दिन्छु भनेर नै निर्वाचित भएका हुन् । 

निर्वाचित त हिटलर पनि थिए, तर उनले जवाफ दिन छाडे, उनको अन्त्य सहज भएन ! 

  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार २०:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया