काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद विश्वकर्माले यस्तो प्रस्ताव गरेका हुन् ।
औद्योगिक वातावरण निर्माणभन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएकाले उद्योग मन्त्रालयको बजेट पूरै खेर गइरहेको उनको तर्क छ ।
चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको भन्दै सांसद विश्वकर्माले बजेटको दुरुपयोग रोक्न माग गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठूला मन्त्रालयमा पर्छ ।
‘कामदारलाई हेलमेट दिएको छ । ज्याकेट लगाइदिएको छ । बुट लगाइदिएको छ, यो गर्मीमा पनि । हातमा काम गर्ने औजारचाहिँ बेल्चा दिएछ,’ सांसद विश्वकर्माले भने, ‘काम के लगाएछ भन्दा मकै गोड्न । यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला ।’
‘बेल्चाले मकै बारी फाड्ने काम । त्यो गोड्ने होइन । बेल्चाले मकै गोडेको मलाई थाहा छैन । बरु हलोले जोत्नेसम्म देखेको छु । बेल्चाले मकै गोड्दा भएको बाली पनि नष्ट गर्ने काम भएको छ,’ उनले थपे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमूलक नभई पर्व र उत्साहको रूपमा मनाइएको आरोप लगाउँदै उनले मकै गोड्ने, नाली सफा गर्ने, झार उखेल्ने, सडकको गाई धपाउने, स्कुलका आँगन बढार्नेलगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा रोष प्रकट गरे ।
औद्योगिक लगानीको वातावरणको सृजना नभएको, खर्च बाँड्ने र रमाउने काम भएको, पर्यटनको नाममा नेता र कार्यकर्ता पिकनिक जाने काम भएको भन्दै उनले खर्च कटौती गर्न माग गरे ।
प्रधनमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले आगामी आर्थिक वर्षमा ५ लाख बेरोजगारलाई रोजगारी उपलब्ध गराउने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।