इस्तानबुल मेयरमा विपक्षी नेता विजयी, राष्ट्रपतिलाई झट्का

एजेन्सी– टर्कीको इस्तानबुलमा दोस्रो पटक भएको निर्वाचनमा सत्तारुढ दलका एके पार्टीले हार व्यहोर्नु परेको छ । प्रमुख विपक्षी पार्टीका उम्मेदवार एक्रेम इमामोग्लुले ५४ प्रतिशत मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । 

गत मार्चमा पनि उनले इस्तानबुलको मेयरमा जित निकालेका थिए । तर, सत्तारुढ एके पार्टीले चुनावमा धाँधली भएको भन्दै त्यो निर्वाचनलाई नै स्थगित गरिदिएको थियो । 

उनका प्रतिस्पर्धी तथा टर्कीका पूर्वप्रधानमनत्री बिनाली यिलदिरिमले हार स्वीकार गरेका छन् । राष्ट्रपति रिसेप ताय्यिप एड्रोगानले पनि विजयी एक्रेमलाई बधाई दिएका छन् । पहिले यी दुवैले पहिलेको निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए ।

यसअघि एड्रोगानले जसले इस्तानबुलमा जित्छ, यसले टर्कीमा नै विजय प्राप्त गर्छ भन्ने अभिव्यक्ति दिएका थिए । 

विजयी एक्रेम सिएचपी पार्टीका हुन् । उनले आफ्नो जितलाई लोकतन्त्रमाथि विश्वास गर्नेहरुको जित भएको बताएका छन् । 

इस्तानबुल टर्कीको आर्थिक तथा सांस्कृतिक राजधानी हो । डेढ करोड मानिस बसोबास गर्ने इस्तानबुलको जिडिपीमा योगदान ३१ प्रतिशत रहेको छ । एड्रोगानले पनि सन् १९९४ मा इस्तानबुलकै मेयर भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसैले पनि यो निर्वाचनलाई विशेष प्राथमिकताका साथ हेरिन्छ ।



सन् २००१ मा एके पार्टी गठन गरेका एड्रोगानले सन् २००३ देखि सन् २०१४ सम्म देशको प्रधानमन्त्रीका रुपमा सत्ता सम्हाले । त्यसपछि उनी राष्ट्रपति भएका हुन् । तर, इस्तानबुलको यो हारले उनको राजनीतिक भविष्यमाथि प्रश्न उठाउने निश्चित छ । 

एक्रेमले चुनावी मैदानमा यसपटक शहरी गरिबीलाई आफ्नो मुद्दा तथा एजेन्डा बनाएका थिए । उनले आफू मेयर बने लोकतन्त्रमा सुधारको सुरुवाती दिन हुने बताएका थिए । 



  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १०:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया