काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० भित्र बजेट पेस गरेका र नगरेकाहरूलाई तीन दिनभित्र मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ । बुधबार मन्त्रालयले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
असार १० गतेभित्र अधिकांश स्थानीय तहले नीति तथा कार्यक्रमसहितको बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्थालाई कतिपय स्थानीय तहले बेवास्ता गरेका कारण मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
काठमाडौंकै चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाले समयभित्र बजेट ल्याउन सकेका छैनन् । त्यसैगरी, जनकपुर उपमहानगर र कलैया उपमहानगरपालिकाले पनि १० गतेभित्र बजेट प्रस्तुत गर्न सकेनन् ।
अन्तर सरकारी वित्त वयवस्थापन ऐनको २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालिका, नगर पालिका र महानगरले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी वर्षका लागि बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले समयमा बजेट नल्याउने स्थानीय तहलाई अनुदान नदिने चेतावनी दिँदै आएको छ । सोहीबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले सबै स्थानीय तहलाई तोकिएको समय असार १० गतेभित्र बजेट पेस गर्न परिपत्र गरेका थिए ।
स्थानीय तहले पेस गरेको बजेट सभाबाट बजेट पास नगरी खर्च गर्ने अधिकार जनप्रतिनिधिलाई छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।