बिबिसी– भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले बजेट पेस गरेकी छन् । हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको यो पहिलो बजेट हो ।
सीतारमणले पेस गरेको बजेटमा पाँच वर्षमा दोब्बर अर्थतन्त्र पुर्याउने लक्ष्य राखिएको छ । भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र पाँच ट्रिलियन अर्थात् पचास खर्ब डलरबराबरको पुर्याउने उनको घोषणा छ । त्यसको अर्थ हो, आगामी पाँच वर्षमा भारतीय अर्थतन्त्रको आकार हालको भन्दा झन्डै दोब्बर हुनेछ ।
संसदमा आफ्नो पहिलो बजेट प्रस्तुत गर्दै उनले त्यो लक्ष्य हासिल गर्न थुप्रै नयाँ योजनाको घोषणा गरिन् । त्यस्ता नयाँ योजनामा सामाजिक पूर्वाधार विकासदेखि लिएर अन्तरिक्ष तथा वातावरणसम्बन्धी कार्यक्रम समावेश छन् ।
सन् २०२२ भित्र सबै ग्रामीण परिवारको पहुँचमा बिजुली र सफा खानेपानीको सुविधा पुर्याउने घोषणा उनले गरिन् । आलोचकहरू भन्छन्– यी काम गर्नका लागि स्रोत कताबाट ल्याइनेछ भन्नेचाहिँ प्रस्ट छैन ।
बजेटमार्फत वार्षिक २ देखि ५ करोड भारु आम्दानी हुनेमाथि ३ प्रतिशतको अतिरिक्त कर लगाइने बताइएको छ । त्यस्तै वार्षिक ५ करोडभन्दा धेरै आम्दानी हुनेमाथि ७ प्रतिशतको अतिरिक्त कर लगाइनेछ ।
अर्थमन्त्री निर्मला सीतारमणले भारतमा ब्रिटिस औपनिवेशिक कालदेखि नै प्रचलनमा रहेको बजेटको ब्रिफकेस बोकेर संसद्मा जाने परम्परा तोडेकी छिन् । त्यसको साटो उनले गाढा रातो रंगको परम्परागत बहिखाता बोकेकी थिइन् ।
उनको प्रमुख आर्थिक सल्लाहकार कृष्णामूर्ति सुब्रहमण्यम्ले यो कदमले ‘पश्चिमा सोचाइप्रतिको दासताबाट अलग भएको’ प्रतीक प्रस्तुत गर्ने बताएका छन् ।
यसपालिको बजेट त्यतिखेर प्रस्तुत भइरहेको छ, जतिखेर भारतमा मूल क्षेत्रहरूमा मन्दी छाएको, बेरोजगारी बढेको तथा विकासको गति पहिलेभन्दा खस्किएको चिन्ता व्यक्त भएका छन् ।
तर, ठूलो बहुमतका साथ दिल्लीको सत्तामा पुनः आएका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आम व्यवसायी तथा सर्वसाधारणको धेरै आकांक्षा छन् । त्यसैले यो बजेटमार्फत सरकारले कर्पोरेट जगतका लागि सुविधा एवं आममानिसका निम्ति राहत दिने कार्यमा सन्तुलन बनाउनुपर्ने देखिएको थियो ।
यसअघि बिहीबार भारत सरकारले त्यहाँको संसद्मा पछिल्लो आर्थिक सर्वेक्षण पेस गरेको थियो । त्यसमा बितेको वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशतमा रहने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।