काठमाडौंका रेस्टुरेन्टमा खाजा–खाना नखाए पनि शाैचालय प्रयाेग गर्न पाइने

काठमाडौं– काठमाडौंको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौँतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया–खाजा खाने निहुँमा होटेल रेस्टुरेन्ट पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ, काठमाडौं महानगरपालिकाले । 

कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेस्टुरेन्ट र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई नै शौचालय प्रयोग गर्न पाउनुहुनेछ । ती होटल/रेस्टुरेन्टसँगको सहकार्यमा कामपाले चालू आवभित्रै यो योजना सुरु गर्न लागेको हो । आगामी दिनमा अरु होटलमा समेत विस्तार गर्दै जाने कामपाको योजना छ । 

महानगरभित्रका ५० वटा होटेलसँग सम्झौता भइसकेको कामपाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार यी होटेलमा महानगरवासीले कुनै पनि खानेकुरा नखाँदा पनि पैसा तिरेर शौचालय प्रयोग गर्न पाउनेछन् । 

शौचालय प्रयोग गरेबापत तिनुपर्ने शुल्कलगायतका विषयमा भने टुंगाे लगाउन बाँकी रहेको उनले बताए । उनले भने, ‘सबै कुराको टुंगाे लागेपछि नै ती शौचालय सञ्चालनमा आउनेछन् ।’

आयोगले केही समयपहिले प्रतिस्पर्धाबाट नै महानगरका लागि नयाँ योजनाको छनोट गर्दा शौचालयमा होटल/रेस्टुरेन्टसँग सहकार्य गर्ने अवधारणा प्रथम भएको थियो । उक्त अवधारणानुसार नै होटल/रेस्टुरेन्टसँग कुराकानी गरिएको उनले बताए । उनले भने, ‘अहिले ५० वटामा सञ्चालन भएपछि अरु होटल पनि थपिने आशा गरिएको छ ।’

देशको सबैभन्दा बढी जनसंख्या बसोवास गर्ने महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । एकातिर शौचालय आवश्यकताभन्दा कम छन् भने अर्कातिर भएका शौचालयको पनि व्यवस्थापन नराम्रो छ । महानगरभित्र शौचालयको संख्या बढाउनुपर्ने र भएका सफासुग्घर गरेर सञ्चालन गर्नुपर्ने महानगरवासीले माग गरेपछि कामपाले यस्तो योजना बनाएको उपाध्यक्ष बस्नेतले बताए । 



कामपाले विभिन्न स्थानमा शौचालय निर्माण गर्ने र भएकाको स्तरोन्नतिको समेत योजना बनाएको उनले बताए । उनले भने, ‘बढी आवश्यकता भएका ठाउँमा शौचालय निर्माणका लागि पनि डिजाइन गरिसकेका छौँ ।’

महानगरमा अहिले सञ्चालनमा रहेका ५७ वटा सार्वजनिक शौचालयमध्ये अधिकांशको अवस्था राम्रो नभएको बस्नेतले बताए । महानगरले गरेको अनुगमनका आधारमा ती शौचालयलाई स्तरोन्नतिको योजना बनाइएको उनले बताए ।



सार्वजनिक शौचालय बनाइएका ठाउँसँगै विभिन्न पसल सञ्चालनमा छन् । उनले भने, ‘जसले निर्माण गर्यो र पैसा उठाइरहेको छ उसले पनि शौचालयको व्यवस्थापनका चासो देखाएको पाइएन ।’ काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयका विषयमा अनुसन्धानकर्ता प्रकाश अमात्यले अनुसन्धान गरेका थिए ।

काठमाडौं उपत्यकाका सबै सार्वजनिक शौचालयको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेका उनले एक महिना पहिले मात्रै अध्ययन पूरा गरेका थिए । अध्ययनका क्रममा शौचालयको संख्या कम रहेको र भएका पनि अवस्था खराब रहेको पाइएको बताए ।

सार्वजनिक शौचालयको जिम्मेवारी स्थानीय तहको भए पनि तीनले व्यवस्थापनमा वास्ता नगरेको उनले बताए । शौचालयमा पैसा उठाउँदै आएकाले पनि व्यवस्थापनमा चासो नदेखाएको उनको आरोप छ । 

सार्वजनिक शौचालय कामपाको कुन शाखाले हेर्ने भन्ने टुंगाे नहुँदा पनि सधैँ दूरावस्था भइरहेको उनले बताए । उनले भने, ‘सार्वजनिक शौचालय राम्रो र सफा गरेर सञ्चालन गर्नेलाई पुरस्कार र फोहर गर्नेलाई दण्डको पनि व्यवस्था हुनुपर्छ ।’

कामपाले यस वर्षको बजेटमा शौचालय निर्माणका लागि एक करोड ५० लाख छुट्याएको थियो । यो रकमबाट ४० शौचालय निर्माण गर्ने कामपाको योजना छ । शौचालय निर्माणमा कतिपय व्यावसायिक प्रतिष्ठान, सरकारी र गैरसरकारी संस्थाले पनि चासो देखाएका छन् । ती संस्थालाई पनि समेटेर जाने महानगरको योजना छ । 

निजी–सार्वजनिक साझेदारीमा निर्माण हुँदा त्यसबाट बचेको रकम अर्को कुनै परियोजनामा खर्च गर्न सकिने कामपाले जनाएको छ । आयोगले गत ६ महिनामा इन्जिनियरिङ अध्ययनरत ३२ विद्यार्थी सहभागी गराएर ४० आयोजनाको डिजाइन गरेकामा सार्वजनिक शौचालय पनि एक हो । 

  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार १६:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया