से–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मी राख्दा व्यापारीकाे विराेध

डोल्पा– उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा से–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छली गर्ने व्यापारीले विरोध गरेका छन् । तिन्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा चोर बाटोबाट व्यापारीले यार्सागुम्बा निर्यात गर्न थालेपछि निकुञ्जले उक्त क्षेत्रमा सुरक्षा कार्यालय स्थापना गर्दा विरोध भएको हो । 

निकुञ्जले से–फोक्सुण्डो गाउँपालिकामा पर्ने दानिगाड, साल्दाङको निजाल र डोल्पोबुद्वको धोमा अस्थायी सुरक्षा कार्यालय स्थापना गरेलगत्तै विरोध सुरु भएको हो ।यही नाका हुँदै हरेक वर्ष विनाछोडपुर्जी र संकलन इजाजतपत्र तथा राजश्व नलिइ उपल्लो डोल्पा र उत्तरी तिब्बतबीचको सीमानाकामा पर्ने क्याटो र मोरिम्ममा लगेर व्यापारीले बहुमूल्य जडीबुटी यार्सागुम्बाको व्यापार गरेको सूचना पाएपछि सुरक्षा कार्यालय स्थापना गरिएको थियो । 

प्रक्रिया पूरा नगरी अवैध बाटोबाट व्यापारीले कारोबार गर्न थालेपछि सो रोक्न निकुञ्जले यस्तो गरेको हो । क्याटो र मोरिम्ममा भदौ १ देखि १५ गतेसम्म अस्थायी रुपमा हाटबजारका लागि नाका खुल्ने मौका छोपी अवैध कारोबार हुने भन्दै सुरक्षा कार्यालय स्थापना गरिएको निकुञ्जले जनाएको छ । 

विगतमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको कडा सुरक्षा दिएर यार्सागुम्बाको व्यापार हुँदै आएको से–फाेक्सुण्डो निकुञ्जको कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपाल खनालले बताए । डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले विगतमा व्यवहारिक रुपमा निकुञ्जले पनि छाडेको र स्थानीय प्रशासनले पनि लचकता अपनाएको उल्लेख गदै यसवर्ष पनि व्यावहारिक रुपमा हेर्न निकुञ्जलाई आग्रह गर्दा पनि नमानेपछि केही विवाद भएको बताए । 

स्थानीय प्रशासन र निकुञ्ज कार्यालय र व्यापारीको छलफलमा सहमति नभएपछि समस्या समाधानका लागि केन्द्रमा पठाइएको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १५:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया