हङकङका प्रदर्शनकारी आज पनि विमानस्थलमा थुप्रिए, साँझका सबै उडान रद्द

हङकङ– प्रदर्शनकारीहरुले विमानस्थल ढाकेपछि आज पनि हङकङका अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका छन् । हिजो पनि प्रदर्शनकारीहरुले विमानस्थलभित्र धर्ना दिएर उडान अवरुद्ध गरेका थिए । सरकारको विरोध गरिरहेका प्रदर्शनकारीले मुख्य टर्मिनल घेरा हालेर कुनै काम गर्न नदिएपछि विमानस्थल प्रशासनले उडानहरु रद्द गरेकाे थियाे । 

विश्वकै व्यस्तमध्येको एक हङकङको यो एयरपोर्ट लगातार पाँच दिनदेखि प्रदर्शनको अखाडा बन्दै आएको छ । सामाजिक सञ्जालमा बाहिरिएका भिडियोहरुले यात्रुहरुले प्रदर्शनकारीको भिड छिचोल्न निकै संघर्ष गर्नुपरेको देखाएका छन् । 

सन् २०१८ मा हङकङ विमानस्थल प्रयोग गरेर ७ करोड ५० लाख मानिस आवतजावत गरेका थिए ।

हङकङकी नेत्री केरी लामले आज सबेरै प्रदर्शनकारीलाई ताजा चेतावनी दिएकी थिइन् । हङकङ खतरनाक परिस्थितिमा पुगिसकेको भन्दै उनले प्रदर्शनका क्रममा हुने हिंसाले हङकङलाई ‘कहिल्यै फर्किन नसकिने ओरालो बाटोमा धकेल्ने’ चेतावनी दिएकी थिइन् । उनको चेतावनीपछि पनि विमानस्थलमा भिड जम्मा हुने क्रम जारी रहेपछि अधिकारीहरुले दिउँसो ४ः३० बजेदेखिका सबै ‘चेक–इन’ रद्द गरेका हुन् । 

दर्शनकारीले हङकङका मुख्य सहरमा प्रदर्शन गर्न थालेको १० साता बितिसकेको छ । आइतबार प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी थप रुष्ट बनेका छन् । अघिदेखि नै सडक यातायात ठप्प पारेका उनीहरुले अब हवाई यातायातमा समेत अवराेध गर्न थालेका छन् । 



आइतबार राति पनि प्रदर्शनकारीलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको समाचार छापिएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि बन्द रेलवे स्टेसनमा समेत अश्रुग्यास प्रहार गरेको थियाे ।

वान चाइ जिल्लामा प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरेका थिए । घटनामा केही प्रहरी अधिकारीसहित प्रदर्शनकारी पनि घाइते भएका छन् । 



यो आन्दोलन खासमा सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको थियो । हङकङ संसद्ले अहिले तत्कालका लागि त्यो विधेयक स्थगित गरेको छ । तर, विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने भन्दै जारी राखिएकाे आन्दाेलन पछिल्लाे समय विभिन्न मुद्दामा माडिँदै अघि बढेकाे छ । अहिले भने प्रदर्शनकारीहरु हङकङकी नेत्री केरी लामको राजीनामा माग गरिरहेका छन् । 

यतिखेर प्रदर्शनकारी र हङकङ प्रशासन दुवै लचक हुने मनस्थितिमा देखिँदैनन् । त्यसैले, यो आन्दोलन अझ सशक्त हुनसक्ने अनुमान गरिएका छन् । तत्कालका लागि आन्दोलन रोकिने कुनै छाँटकाँट देखिन्न । 


  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १८:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया