हङकङमा चर्किँदो आन्दोलन, तर क्यारी लाम भन्छिन्– राजीनामा दिन्नँ

एजेन्सी– हङकङकी नेतृ क्यारी लामले अहिले राजीनामा दिनेबारे नसोचेको बताएकी छिन् । तर, सोमबारमात्र बाहिर चुहिएको एक अडियोमा क्यारीले आफूले पाउने भए राजीनामा पनि दिन तयार रहेको विषयमा बोलेकी थिइन् । 

‘यदि मसँग विकल्प छ भने मैले गर्ने पहिलो काम भनेको राजीनामा दिने हो,’ चुहिएको त्यो अडियोमा उनले भनेको सुनिन्छ । तर, मंगलबार एउटा कार्यक्रममा उनले भनिन्, ‘मैले राजीनामाबारे अहिले सोचेको छैन ।’

हङकङमा अब आन्दोलनकारीले सरकारविरुद्ध प्रदर्शन गर्न थालेको महिनौँ हुन थालिसकेको छ । त्यहाँ प्रदर्शनकारीहरुको पक्षमा विद्यार्थीले पनि आफ्ना कक्षाहरु बहिष्कार गर्न थालेका छन् । 

सबैभन्दा पहिले यो आन्दोलन चर्किनुको कारण हङकङको संसदमा पेश भएको सुपुर्दगी विधेयक हो । यो विधेयक पास भएको खण्डमा चीनले चाहेमा अभियुक्तहरुलाई हङकङले चीनमा बुझाउनु पर्ने हुन्थ्यो । तर, अभियुक्तहरुलाई चीनमा बुझाउने यो विधेयकको हङकङवासीले विरोध गर्न थाले । 

आन्दोलन चर्किएपछि क्यारी लामले यो विधेयक फिर्ता लिइन् । ‘यो अनिश्चितकालका लागि फिर्ता भएको छ,’ उनले त्यति बेला भनेकी थिइन् । तर, प्रदर्शनकारीले यो विधेयक फिर्ता गरेर मात्र नहुने, त्यसलाई खारेज नै गर्नु पर्ने माग गर्दै आएका छन् ।

अब त प्रदर्शनकारीले लामको राजीनामा पनि माग्न थालेका छन् । 



सोमबार समाचार एजेन्सी रियुटर्सले छापेको लामको बाहिरिएको एउटा अडियोमा सुनिन सकिन्छ, ‘मसँग विकल्प भएमा म राजीनामा दिन्थेँ ।’ उनले अहिले सहरमा भइरहेको प्रदर्शन आफ्नो नियन्त्रणमा लिन आफूसँग कुनै सामथ्र्य नभएको आशयको अभिव्यक्ति पनि दिएकी छिन् । तर, मंगलबार उनले हङकङवासीलाई आफूले समस्याको यो समयमा छोड्नेबारे सोच्दै नसोचेको बताइन् । 



  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार ११:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया