मनसुन अझै तीन दिन सक्रिय रहने, सतर्कता अपाउन अनुरोध

काठमाडौं– मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए ।

न्यूनचापीय रेखासँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको छ । आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने  मौसमविद्काे भनाइ छ । 

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्नसक्ने र पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन अनुरोध गरेको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भोलि देशभर आशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै शनिबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरण अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस रहेको छ । 





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १५:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया