जापानको राजनीतिमा उदाउँदै नयाँ अनुहारः सिन्जिओ कोइजुमी

एजेन्सी— गत महिना जापानमा एकजना नेताको घोषणाले ठूलो चर्चा पायो । ती नेता थिए, जापानका अत्यन्त लोकप्रिय प्रधानमन्त्री जुनिचिरो कोइजुमीका दोस्रो छोरा सिन्जिरो कोइजुमी ।

गत महिना उनले समाचारहरुको हेडलाइनमा स्थान बनाउनुको कारण थियो, उनको विवाहको घोषणा । उनले एक टिभी कार्यक्रम प्रस्तोतासँग विवाह गर्ने र सन्तान जन्मिएपछि ‘प्याटर्निटी’ बिदा लिने सम्भावना रहेको बताएका थिए ।

जापानमा यो सोचिएको थिएन । अहिले पनि जापानमा सन्तानको हेरचाह बाबुले होइन आमाले गर्ने हो भन्ने सोच छ । र, आमाहरुले नै बच्चाहरुको शिक्षादिक्षा तथा हेरचाहमा विशेष भूमिका निर्वाह गर्छन् । तर, यसपटक कोइजुमीले त्यस्तो घोषणा गरे, उनी मिडियामा हेडलाइन बनिछाडे । यसको अर्थ कोइजुमी पहिलो पटक यसरी मिडियामा आएका हुन् भन्ने चाहिँ होइन ।

३८ वर्षको उमेरमा नै कोइजुमी, जसलाई जापानमा उनका बाबुको नामसँग अन्योल नहोस् भनेर सिन्जिरो भनिन्छ, बारम्बार जापानमा मिडियाको विषय बन्छन् र अधिकांश जापानीहरुले उनलाई अबको नेता भनेर सम्बोधन गर्न थालिसकेका छन् ।

फेरि कोइजुमी चाहिँ यो साता पनि जापानी मिडियाको आकर्षण बनेका छन् । किनकि उनलाई प्रधानमन्त्री सिन्जो अबेले त्यहाँको वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । दोस्रो विश्वयुद्ध पछि सबैभन्दा कम उमेरमा मन्त्री बन्ने कोइजुमी तेस्रो व्यक्ति हुन् ।



अब उनको परीक्षा सुरु भएको छ ।

‘अमेरिकाका जापानी हात भनिएकाहरुबीच निकै चर्चित,’ जापान टाइम्सले कोइजुमीबारे लेखेको थियो, ‘अब उनलाई विश्लेषकहरुले परीक्षा लिइरहेका छन् । विश्लेषक हुनु वा मिडियाको ध्यान तान्नु र क्याबिनेट मन्त्री हुनु फरक कुरा हुन् ।’ कोइजुमीले न्युयोर्कको कोलम्बिया विश्वविद्यालयबाट पोलिटिकल साइन्समा मास्टर्स मात्र गरेका छैनन्, उनीसँग अमेरिकाको थिंक ट्यांक सिएसआइसमा काम गरेको अनुभव पनि छ ।



जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका कोइजुमी सन् २००९ मा तल्लो सदनका लागि निर्वाचित भएका थिए । यो उनले आफ्नै बाबु लड्दै आएको सिटमा उम्मेदवारी दिएका थिए । त्यसो त कोइजुमी उनको परिवारका चौथो पुस्ता हुन् जसले त्यो क्षेत्रमा लामो समयदेखि विजय उत्सव मनाइरहेको छ ।

धेरैले अब जापानको प्रधानमन्त्रीका रुपमा कोइजुमीलाई हेर्न थालिसकेका छन् । तर, कतिले त उनको आलोचना पनि गरिरहेका छन् । 

‘सानै उमेरमा ऊ हतारमा छ,’ समाचार एजेन्सी रिउटर्सलाई एक व्यक्तिले बताएका छन् ।

जे होस्, टिभी पत्रकार क्रिस्टेल ताकिगावासँग विवाह गर्ने उनको घोषणालाई जापानका मिडियाले विशेष प्राथमिकता दिएका छन् । उनीहरुले अगस्टमा विवाह गर्ने भएका हुन् । ४२ वर्षे ताकिगावा चाहिँ अब हुने ओलम्पिकको विशेष अनुहार हुनेछिन्, उनले ओलम्पिक कार्यक्रम होस्ट गर्ने धेरैले अनुमान गरेका छन् । 
 

  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २२:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया