logo-img

[ब्लग] डाक्टरलाई सिस्टर भन्दा इमरजेन्सी वार्डमा मच्चेकाे बबन्डर

‘हेर्दा त पढेलेख्या जस्तै देख्छु, डाक्टर र नर्स छुट्ट्याउन आउँदैन ?’

सेतो एप्रोनमा वीर अस्पतालको इमर्जेन्सी वार्डमा ‘सिस्टर’ भनेर बोलाउँदा मात्र यस्तो जवाफ नपाएको भए सायद आज यो ब्लग लेखिने थिएन । 

त्यो पनि विस्तारै भनिएको हुन्थ्यो भने यो नलेख्न सकिन्थ्यो । तर, सिस्टर भनेर मैले जसलाई बोलाएको थिएँ, उहाँले मलाई पिटूँला झैँ गरि र पूरै वार्ड थर्किने स्वरमा यस्तो जवाफ दिनुभएको थियो । 

त, कुरा सुरु गरौँ, वीर अस्पतालको इमर्जेन्सी वार्डसम्म पुग्दाको घटनाबाट । 

कपूरधारमा म मेरो भाइ र बहिनीसँग बस्छु । आजभोलि काठमाडौं ज्वरोले आक्रान्त बनेको छ । डेंगीदेखि अन्य भाइरल ज्वरोको संक्रमण पनि बढ्दो छ । 



मेरी बहिनीलाई पनि ज्वरोले समात्यो । ६ दिनसम्म ज्वरो आइरह्यो । सातौँ दिन उसलाई अलिक ठिक भयो । अफसोस, उसले गुनासो गर्न थाली– पेट दुख्यो । 

पहिले त सामान्य दुखाइ होला भनेर वास्ता गरिएन । तर, बहिनीले यसअघि महिनावारी हुँदा हुने दुखाइ र त्यो दुखाइ बिल्कुलै फरक भएको बताउन थाली । त्यो साँझ घरमा नै प्राथमिक उपचार गरियो । 



भोलिपल्ट विहान बहिनीलाई झन् गाह्रो भएछ । 

बहिनी अरिएकी थिइ, दुखाइले गर्दा । हुँदाहुँदा उसले सास फेर्न पनि गाह्रो भएको गुनासो गर्न थाली । मैले बहिनीलाई अस्पताल लैजाने तर्खर गरेँ । 

बहिनी र म घरबाट निस्कियौँ । कपूरधारा चोकैमा एउटा ट्याक्सी रोकिइरहेको रहेछ । 

‘वीर अस्पताल जाऔँ न दाइ,’ मैले ट्याक्सीलाई भनेँ । ट्याक्सी चालकले सोझै भने– म मिटरमा जान्नँ, २५० दिने भए जान्छु । 

सिमसिम पानी परिरहेको थियो । मसँग अरु विकल्प थिएनन् । सार्वजनिक गाडीमा जान सक्ने अवस्थामा नै थिएन । मैले त्यो ट्याक्सीलाई भनेँ– मिटरमै जाऔँ । अन्तिममा ट्याक्सी मिटरमा उठेको भन्दा ५० रुपैयाँ बढी थप्न म तयार भएपछि जान तयार भयो ।

अस्पतालमा निकै भीड थियो । टिकट काउन्टरमा ५०—६० जना लाइनमा थिए । म त्यसको पुछारमा गएर उभिएँ । टिकट काटेँ । बहिनीलाई लिएर तेस्रो तलामा डाक्टरलाई देखाउन गएँ । 

तेस्रो तलामा जाँदा अन्य ठाउँमा मात्र होइन, भर्याङमा पनि बिरामी र उनीहरुका कुरुवा लडिरहेका थिए । बिरामीको चाप निकै थियो । 

बहिनीको कुरा सुनिसकेपछि र सामान्य जाँच गरिसकेपछि डाक्टरले औषधि र गर्नु पर्ने टेस्टहरु लेखिदिए । त्यो सल्लाहमा भिडियो एक्स रे गर्नु, रगत र पिसाब जाँच गर्नु, इन्डोस्कोपी गर्नुलगायतका कुराहरु थिए । 

मैले अस्पतालमा भिडियो एक्स रे, इन्डोस्कोपीलगायतका विषयमा सोधेँ । वीर अस्पतालमा यो सब हुँदो त रहेछ तर कम्तिमा पाँच दिन कुर्नु पर्ने रहेछ । बहिनीलाई सहनै नसक्ने गरि पीडा भइरहेको थियो । 

त्यस्ती बिरामी बहिनीको इन्डोस्कोपी वा भिडियो एक्स रे पाँच दिन पछि गर्न सक्ने अवस्थामा नै थिएन । त्यसैले उसलाई लिएर म प्राइभेट अस्पताल गएँ । डाक्टरले लेखिदिएको औषधि किनेर बहिनीले खान थालिसकेकी थिइ । त्यसैले म भोलिपल्ट विहानसम्म ठिक होला भन्नेमा विश्वस्त थिएँ; होस् भन्ने कामना पनि गरिरहेको थिएँ । 

भोलिपल्ट विहान बहिनीले झन् बढी दुख्यो भन्न थाली, सास फेर्न गाह्रो भयो भनी । उसको आँखा आँसुले भरिएको थियो ।

हामी तत्काल फेरि अस्पताल जाने भयौँ । अघिल्लो दिन वीरमा डाक्टरलाई देखाएकाले भोलिपल्ट पनि त्यहाँ नै एकपटक जाऔँ न भन्ने भयो । म सरासर गएर डाक्टरलाई भेटेँ । उहाँले सल्लाह दिनुभयो– त्यसो भने अहिले इमरजेन्सीमा भर्ना गरौँ न त !

उहाँको सल्लाहअनुसार हामी इमरजेन्सीमा गयौँ । ओहो, वीरको इमरजेन्सी वार्ड चाहिँ कतै हाट बजार लागेको जस्तै हुँदो रहेछ, बिरामीहरु धेरै तर बेड कसैलाई पनि नपुग्ने । हामी छिर्दाछिर्दै एउटा बेड खाली भएजस्तो लाग्यो, हामी त्यही बेडमा बस्यौँ । डाक्टरले नै केही टेस्टहरु गरिहाल्नु भनेर स्लिप दिनु भएको थियो । रगत झिक्नु पर्ने भयो । 

बहिनी दुखाइ अझ बढ्दै गएको भनिरहेकी थिइ । म आत्तिएको थिएँ । त्यहाँ आउनुभएका केही स्वास्थ्यकर्मीलाई मैले रगत झिकिदिन अनुरोध गरेँ । उहाँहरुले एकछिनमा आउँछु भन्नु भयो । 

म अलिक अगाडि गएँ, सायद त्यो नर्सिङ स्टेसन थियो । त्यहाँ सेतो एप्रोन लगाएर एक जना बसिरहनुभएको थियो । 

उहाँलाई नै मैले भनेँ– सिस्टर, रगत टेस्ट गर्नु पर्ने छ, झिकिदिनुहोस् न । मैले उत्तर पाएँ– एकछिनमा । 

त्यहाँबाट म फर्किएँ । हामी छेउमै अर्को एकजना त्यस्तै सेतो एप्रोन लगाएर आउनुभयो । 

मैल भनेँ– सिस्टर रगत झिकिदिनुहोस् न । बहिनीका आँखामा अझै आँसु टिलपिलटिलपिल थियो ।

‘हेर्दा त पढेलेख्या जस्तै देख्छु, डाक्टर र नर्स छुट्ट्याउन आउँदैन, म नर्स होइन, डाक्टर हो ।’ उनले जवाफ दिइन् ।

मैले केही बोलिनँ, बोल्ने कुनै शब्द नै आएन । उनी अलिक पर पुगिन् । त्यहाँ अर्का बिरामीले उनलाई बोलाए– नर्स स्लाइन सकियो, फेरिदिनुस् न !

उनले मलाई भन्दा झन् चर्को स्वरमा ती बिरामीलाई खप्काइन्, ‘अघि भनेको होइन, म नर्स होइन ।’ त्यसपछि त्यहाँबाट उनी अगाडि बढ्न खोज्दै थिइन् । ती बिरामीको स्लाइनमा रगत निस्किएको थियो । 

मलाई झोँक चल्यो, मैले आफूलाई नियन्त्रण गर्न सकिनँ । गएर उहाँलाई भनेँ, ‘तपाईं नर्स होइन, डाक्टर नै हो । तर, त्यो बिरामीको रगत बाहिर आएको देख्नुहुन्न ? बिरामीसँग झर्किएर के पाउनुहुन्छ ?’

मैले यतिमात्र के भनेको थिएँ, त्यहाँ अरु पनि यही कुरा थप्न आइहाले । कतिले त मोबाइल झिकेर भिडियो खिच्न थाले । सबैले गुनासो गर्दा पनि ती डाक्टरले भनिन्, ‘तिमीहरुलाई उपचार गराउनु छ भने बस, नत्र गेट आउट ।’

उनले यसो भन्नेवित्तिकै त्यहाँ अरु थप भनाभन हुन थाल्यो । अस्पतालको इमरजेन्सी वार्डमा एकजना डाक्टरले आफूलाई डाक्टर भनेर सम्बोधन नगर्दा झन् चर्को स्वरमा बबन्डर गरिरहेकी थिइन् । उनी बिरामीहरुलाई बाहिर जान सक्छौ भन्ने धम्की दिइरहेकी थिइन् । 

त्यही दिन मलाई बोध भयो, हाम्रा सरकारी अस्पताल किन राम्रा छैनन्, हाम्रा सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको सोच कुन स्तरको छ !

त्यति बेला देखि मेरो मनमा अहिले पनि एउटा प्रश्न उब्जिएकै छ– के ती ‘डाक्टर’ले सोझासाझा मानिसहरु पुग्ने अस्पतालमा कसैले नर्स वा सिस्टर भन्दा मीठो बोलिदिएकै भरमा आफ्नो पढाइ सबै सकिने वा आफू डाक्टरबाट तल झरेर अरु केही हुने सोचेकी थिइन् ?

यो प्रश्नले एकातिर पछ्याइरहेको छ भने अर्कोतिर बहिनीको स्वास्थ्यमा निकै सुधार हुँदै गएको छ, त्यसले खुसी दिइरहेको छ । 

  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया