काठमाडाैं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याएका खसी, बोका तथा च्यांग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन ।
विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महँगाे भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिए ।
बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्यांग्रा काठमाडौंमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । दाङ र वीरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्यांग्रा ल्याउन लागिएको छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरिद समिति गठन भई खसी, बोका तथा च्यांग्रा खरिद हुने गर्छ ।
अहिलेसम्म ५ सय ५० च्यांग्रा र १ सय ८० खसी बोका काठमाडौं आइसकेको तथा अन्य आउने क्रममा छ । आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री सुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्यांग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।