भारत–चीनकाे रेल काठमाडाैंमा जुध्लाजस्ताे छ: सुवास नेम्वाङ

काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुबास नेम्वाङले चिनियाँ रेल केरुङहुँदै काठमाडौं आइपुग्ने निश्चित भइसकेको बताएका छन् । नेपाल-चीन हिमालय मैत्री समाजद्वारा शुक्रबार आयोजित राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको महत्व विषयक अन्तरक्रियामा नेम्बाङले त्यस्तो बताएका हुन् ।

‘अब चिनबाट केरुङहुँदै रेल आउने निश्चित भइसक्यो,’ राष्ट्रपति सिको भ्रमणको पूर्व सन्ध्यामा आयोजित अन्तरक्रियामा नेम्बाङले भने, ‘अब उत्तर–दक्षिण दुवैतिरको रेल काठमाडौंमा जुध्ला जस्तो छ ।’ उपनेता नेम्बाङले चीन र भारत दुवैतिर जोड्ने पुलका रुपमा मुलुकलाई रुपान्तरित गर्न कम्युनिस्ट नेतृत्वको सरकारले धेरै मिहेनत गरिरहेको जानकारी दिँदै उत्तर–दक्षिण रेलबाट मुलुकलाई जोड्ने नेपाली सपना छिट्टै पूरा हुन लागेको बताए । 
सार्वभौमसत्ता सम्पन्न मुलुकका हिसाबले चीन र भारत बराबरकै समान हैसियतमा नेपालले दुवै देशलाई गतिशील पुल बनेर एकै ठाउँमा उभ्याउन चाहिरेको बताउँदै दुवै देशसँग राष्ट्रिय हितलाई केन्द्रबिन्दूमा राखेर सम्झौताहरु हुनेसमेत प्रष्ट्याए । चीन र भारत दुवैसँग विशिष्ट प्रकृतिको सम्बन्ध रहेकाले एउटासँगको सम्बन्ध अर्कोसँग तुलना गर्न नमिल्ने बताउँदै उनले विश्वका जुनसुकै विषयलाई पनि नेपालले आफ्नै आँखाले नियालिरहेको जनाए । 

कार्यक्रमा नेकपाका प्रमुख सचेतक देव गुरुङले नेपालको विकास सैन्य रणनीतिमा सामेल भएर भन्दा आर्थिक विकासमा साझेदारीबाट मात्र सम्भव हुने बताए । उनले राष्ट्रपति सिको भ्रमणसँगै बिआरआई परियोजना कार्यान्वयनमा आउनेमा आफू विश्वस्त रहेको बताए । 

पूर्व संस्कृति पयर्टन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेलका कारण चीनसँग बिआरआई परियोजनामा सम्झौता सम्पन्न भएको तीन वर्ष बित्दा पनि कार्यान्वयनको दिशामा अघि बढ्न नसकेको बताए । उनले चिनियाँ राष्ट्रपति सिको भ्रमणमा सपिङ लिष्ट(सहयोगको सूचि) प्रस्तुत गर्ने भन्दा पनि पार्टनरशिप रिलेशनसिप(साझेदारी)को सम्बन्ध कायम हुनेगरी सम्झौता हुनुपर्नेमा जोड दिए । 
मैत्री समाजका पूर्व अध्यक्षसमेत रहेका पोखरेलले चीनका १४ ओटा छिमेकी मुलकमध्ये १४ सय किलोमिटरसम्म हिमालय पर्खालको रुपमा उभिएर उसको सार्वभौमसत्ताको रक्षा गर्ने नेपाल जस्तो रणनीतिक महत्वको अरु कुनै पनि मुलुक नभएकाले सिको भ्रमणसँगै दुई देशबीचको सम्बन्ध विशिष्ट रुपमा अघि बढ्ने विश्वस व्यक्त गरे । 

कार्यक्रममा नेकपाका प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्यबहादुर थापा, केन्द्रीय सदस्य राजेन्द्र गौतम, नेपाल विज्ञ चिनियाँ प्राध्यपक झाङ् स्वबिन, नेपाल–चीन सम्बन्धका विज्ञहरु डा. कल्याण रोक्का, डा. रुपक सापकोटा लगायतले पनि धारणा राखेका थिए ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार २१:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया