नेकपामा नयाँ सभामुख बहसः सुवास नेम्वाङ देखि अग्नि सापकोटासम्म !

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु नयाँ सभामुखको विषयमा चर्चा गर्न जुट्न थालेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै रिक्त रहेको पदमा अब कसलाई ल्याउने भन्ने बहस नेकपामा पेचिलो बन्न थालेको छ । 

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने व्यस्थाका कारण पनि यो बहस अझ पेचिलो बन्दै गएको हो । यसअघि पूर्वमाओवादी र पूर्वएमालेबाट सभामुख र उपसभामुख निर्वाचित भएका थिए । संसदमा सभामुख र उपसभामुखका लागि निर्वाचन हुँदा दुई पार्टी एकीकरण नभइसकेको भन्दै महरा र शिवमाया तुम्बाहाम्फे दुई पदका लागि उम्मेदवार बनाइएका थिए । 

स्रोतका अनुसार अब नेकपाका अध्यक्षद्वय संवैधानिक व्यवस्थाअनुसार चल्नका लागि शिवमायालाई राजीनामा दिन लगाउने योजनामा पुगेका छन् । उनीहरुले शिवमायालाई मन्त्री पदको अफर गर्ने र सभामुखमा आफ्नै पार्टीका नेता ल्याउने तयारी गर्न थालेको नेकपा शीर्ष नेताहरुबीच बहस हुन थालेको छ । 

नेकपाका केन्द्रीय सदस्य तथा सांसद एक नेताले फरक धारसँग अब नयाँ सभामुखका लागि सबैभन्दा प्रबल दाबेदार सुवास नेम्वाङ भएको चर्चा गर्न थालिएको छ । नेम्वाङले पनि यसमा मुड बनाएका छन् । ‘उहाँ ट्राइड, टेस्टेड पनि हो,’ ती नेताले भने, ‘त्यसैले उहाँको विषयमा सबैले सहमती जनाउने सम्भावना छ ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीसँग अत्यन्त निकट रहेकाले पनि नेम्वाङलाई सभामुख बन्नका लागि सहज हुने नेकपाका नेताहरुले चर्चा गर्न थालेका छन् । 



अर्कोतिर, यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका खगराज अधिकारीको नाम पनि नेकपामा सभामुखका रुपमा आएको छ । संसद बैठकहरुमा पार्टीको पक्षमा आक्रमक शैली अपनाउन थालेका अधिकारी कास्कीबाट निर्वाचित भएका हुन् । नेम्वाङलाई अब हुने मन्त्रिपरिषद् हेरफेरमा कुनै एउटा मन्त्रालयको जिम्मेवारी दिएर अधिकारीलाई सभामुख बनाउन पाए आफूलाई अझ सहज हुने ओलीको ठहर छ । 

‘उहाँ आफ्नो टिमको मान्छेलाई नै अगाडि बढाउन चाहनुहुन्छ,’ नेकपाका एक नेताले भने, ‘त्यसैले अब सभामुख हुनेमा अधिकारीको प्रबल सम्भावना छ ।’



तर, यो विषयमा सम्झौता नगर्ने पक्षमा पुगेका छन्, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यस विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनुभन्दा अगाडि देखि नै छलफल सुरु भएको स्रोतको दाबी छ । 

‘बीचमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा सबै केन्द्रित भएकाले यो विषयमा खासै कुराकानी भएको थिएन, तर अब नेताहरुबीच यही विषयले प्राथमिकता पाउन थालेको छ,’ ती नेताले बताए, ‘आइतबारमात्र पनि अध्यक्षद्वयबीच यस विषयमा कुराकानी भएको थियो ।’ उनले त आइतबार उपसभामुख शिवमायालाई प्रधानमन्त्री निवास बालुवाटारमा नै बोलाएर यस विषयमा प्रचण्ड र ओलीले कुराकानी गरेको पनि दाबी गरेका छन् । तर, त्यो कुराकानीमा शिवमायाले आफूले उपसभामुख छोड्नु परेमा सभामुखको उम्मेदवार आफैं बन्न पाउनु पर्ने अडान राखेकी छिन् । 

‘तर, शिवमायाको मागअनुसार जाने पक्षमा दुवै अध्यक्ष हुनुहुँदैन,’ ती नेताले भने, ‘त्यसो गर्दा आफ्नो हातबाट सभामुख पद नै गुम्ला कि भन्ने डर पनि नेताहरुलाई छ ।’

नेकपा अध्यक्ष प्रचण्ड चाहिँ सभामुखमा पूर्वमाओवादीकै एक सांसद छानिनु पर्ने तर्कमा छन् । यसअघि महरा पनि पूर्वमाओवादीबाटै भएको वास्तविकतालाई उल्लेख गर्दै उनले अब पनि सभामुख पद पूर्वमाओवादीलाई दिनु पर्ने धारणा राखेका छन् । प्रचण्डनिकट एक नेताका अनुसार पछिल्लो समय पार्टी एकीकरणका विषयमा प्रचण्डले निकै धेरै सम्झौता गरिसकेको आभास प्रचण्डलाई भएको छ । ‘त्यसैले उहाँ सभामुखको पदमा सम्झौता गर्ने पक्षमा हुनुहुँदैन,’ ती नेताले भने । 

नेकपामा पूर्वमाओवादी नेताहरुमा देव गुरुङलाई सभामुख बनाउने विषयमा चर्चा सुरु भएको छ । तर, देव गुरुङको पक्षमा प्रचण्ड छैनन् । गुरुङलाई सभामुख बनाउँदा उनले आफ्ना कुराहरुलाई गम्भीर भएर नसोच्ने अनुमान प्रचण्डको छ । 

त्यसैले उनले आफूनिकट अग्नि सापकोटालाई सभामुखका लागि तयार रहन सन्देश दिइसकेको प्रचण्डनिकट एक उच्च स्रोतको दाबी छ । सापकोटा पनि सभामुख हुनका लागि तयार छन् ।

‘सापकोटालाई सभामुख बनाउन पाएमा प्रचण्डलाई विभिन्न विषयमा सहज पनि हुने थियो भन्ने छ,’ स्रोतको दाबी छ, ‘अब बहस सुरु भएको छ, केही दिनमा नै पार्टीले औपचारिक रुपमा सभामुखका उम्मेदवार चयन गर्ने नै छ ।’

सभामुखका लागि संसदमा निर्वाचन भने संसदको अर्को अधिवेशन सुरु भएलगत्तै हुनेछ ।

  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १८:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया