नेकपाले टुङ्ग्याउन सकेन कास्कीमा उम्मेदवार
नेकपाबाट कास्कीमा रवीन्द्रपत्नी विद्याले उम्मेदवारी दिने सम्भावना प्रबल छ ।

पोखरा– प्रतिनिधिसभामा रिक्त रहेको एक मात्र स्थान कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै उम्मेदवार को हुने भन्ने टुङ्गोमा पुग्न सकेको छैन । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र भट्टराईको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र खाली भएको हो । यो क्षेत्रमा नेकपा र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

तर, अहिलेसम्म दुवै पार्टीले आफ्ना उम्मेदवार को बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । 

नेकपाका नेताहरुबीच पनि यो क्षेत्रमा उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । नेकपाबाट यसअघि नेता वामदेव गौतम उक्त क्षेत्रमा प्रतिस्पर्धा गर्ने हल्ला चलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपा नेता वामदेव गौतमलाई निर्वाचनमा होमिन सुझाव दिएका थिए । तर, गौतम स्वयंले आफू निर्वाचनमा नहोमिने बताइसकेका छन् । बरु उनले रवीन्द्रपत्नी विद्या भट्टराईलाई त्यहाँबाट उम्मेदवारी दिन सुझाएका छन् । गौतमले त्यहाँबाट निर्वाचित भट्टराईका परिवारबाट नै कोही उम्मेदवार हुनु उचित हुने बताएका थिए ।

तर, रवीन्द्रपत्नी विद्या भट्टराई चुनावमा उठ्ने या नउठ्नेबारे अहिलेसम्म कुनै निर्णय गरेकी छैनन् । 

के उनी कास्की २ बाट उम्मेदवार बन्लिन् रु 



उनी राजनीतिमा आउन सक्ने तर्कलाई किन बल पुगेको छ भने उनी पहिले सक्रिय राजनीतिमा थिइन् । अखिलको सचिवसम्म भएकी विद्याले विवाहपछि नै राजनीतिबाट टाढा बस्ने निर्णय गरेकी थिइन् ।

यही विषयमा उनको परिवारमा पनि छलफल भएको र नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरुले उनलाई राजनीतिमा आउन सल्लाह दिएको कास्कीका ती नेकपा नेताले बताए । 



‘उहाँ राजनीतिमा आउँदा हुन्छ भन्ने नेताहरुको कमी छैन,’ ती नेताले भने, ‘अहिलेसम्म उहाँसँग औपचारिक रुपमा पार्टीका नेताहरुले छलफल त गर्नु भएको छैन । तर, गाइँगुइँ उहाँ राजनीतिमा आउन सक्ने कुरा र निर्वाचनमा लड्ने कुरा चाहिँ बाहिर आइरहेका छन् । उहाँको धारणा चाहिँ बुझ्न सकिएको छैन ।’

त्यसो त यसअघि विद्याले आफू राजनीतिमा नआउने संकेत गरेकी थिइन् । विद्याले त्यति बेला श्रद्धान्जली सभामा भनेकी थिइन्, ‘उहाँ (रवीन्द्र)का सपना पूरा गर्ने जिम्मेवारी अब पार्टीको हो । परिवार त उहाँको सपनाको सानो इकाइ मात्र हो ।’ उनले आफू राजनीतिमा नआउने संकेत त्यसपछि पनि गर्दै आएकी थिइन् । 

अर्कोतिर, अब केही नेकपा नेताले नै विद्यालाई राजनीतिमा नआउन सल्लाह दिन थालेका छन् । 

‘यसपटक त उहाँले भावनात्मक रुपमा पनि जित्न सक्नुहुन्छ, तर राजनीति भनेको लामो रेसको घोडा हो,’ एक नेताले भने, ‘उहाँले राजनीति गर्ने भन्दा पनि आफ्नै पेशामा केही गर्दा हुन्छ, जसलाई पार्टीले पनि सहयोग गर्छ ।’

ती नेताले यसपटक विद्याले कास्कीबाट उम्मेदवारी दिएर जिते पनि त्यसपछि के भन्ने प्रश्न उठ्न सक्ने सम्भावना रहेको बताए । नेकपा सचिवालयका एक सदस्यले पनि पार्टीमा विद्यालाई निर्वाचनमा उठाउने वा नउठाउने भन्नेबारे कुनै छलफल नभएको बताए । यसबारे पार्टीमा छलफल हुने ती नेताले बताए । 

अर्कोतिर, कास्कीमा यसपटक सोमनाथ प्यासीलाई चुनाव उठाउनु पर्छ भन्नेहरु पनि बढेका छन् । त्यस्तै, तुलबहादुर गुरुङ, रश्मि आचार्यसम्ममको नाम कास्कीका उम्मेदवारको आकांक्षीको रुपमा देखिएको छ । 

अर्कोतिर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफूले कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन । कांग्रेसबाट धनराज गुरुङको सम्भावना बढी भएको त्यहाँका नेताहरुले चर्चा गर्न थालेका छन् । अन्य आकांक्षीमा देवराज चालिसे, सोभियतबहादुर अधिकारी देखिएका छन् । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १२:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया