डोल्पाका आठवटै स्थानीय तह विद्युत् र सञ्चार अभावकाे चपेटामा

डोल्पा– हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्युत् र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोवास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै यस्तो समस्यामा भोग्न बाध्य छ ।

यहाँका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने त्रिपुरासुन्दरी नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिन्छ । नगरपालिकाअन्तर्गत वडा नं ३ र ४ मा पर्ने जिउ, सुँ र रङ गाउँमा एक दिन पालो पर्खेर छिकेकी नगरपालिकाको विद्युत् सेवा लिनुपर्ने बाध्यता छ ।

उक्त वडामा टावरले राम्रोसँग काम गर्दैनन् । भरपर्दो टेलिफोन सुविधा नहुँदा जनताले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएको वडा नं ४ का अध्यक्ष श्रीदल बुढाले बताए । त्यसैगरी वडा नं ५ र ६ मा पर्ने ल्हाँ, फुल्चिङ र खदाङका नागरिक वर्षौं अघिदेखि अन्धकारमा छन् ।

पालङ गाउँमा बनेको खातीखोला जलविद्युत् अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेको स्थानीय मोती उपाध्यायले बताए । पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उनले बताए ।

नगर क्षेत्रको वडा नं ८ मा पर्ने खालीवन गाउँ र ११ मा पर्ने मुँ र बन्तडी गाउँमा फोन सुविधाको चरम समस्या रहेको छ । ठूलीभेरी नगरपालिकाको जुफालमा राखिएको टावरले काम नगर्ने भएकाले त्यहाँका नागरिक वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन् । ‘सिंगाे गाउँमा कतै पनि फोन टिप्दैन, फोनमा कुरा गर्न हात घुमाउँदै गाउँदेखि १० मिनेट हिँडेर डाँडामा आनुपर्छ, घरमै फोन नलाग्दा साह्रै समस्या भएको छ’, खालीवनका स्थानीयवासी विष्णु गुरुङले गुनासो गरे ।

‘हामीलाई अन्य विकास चाहिँदैन, सरकारलाई टेलिफोन टावर बनाइदिन माग गर्छौं,' उनले भने । कोही बिरामी पर्दा, महत्वपूर्ण खबर रातिको समयमा गर्नुपर्दा साह्रै समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । स्थानीयस्तरमै निकालिएको १०० किलोवाटको लघु जलविद्युत्का कारण बत्तीको सुविधा राम्रो भएको स्थानीयवासीको भनाइ छ । 



त्रिपुरासुन्दरी नगरपालिका कार्यालय रहेको वडा नं १ बगर क्षेत्रमा टेलिफोन लाग्दैन । नगरपालिको आफ्नै टावर नभएकाले छिमेकी नगरपालिकामा राखिएको टावरले काम नगरेपछि नगरपालिका कार्यालयनै सञ्चारविहीन छ । अझै पनि नगरपालिका आसपासका नागरिक फोन गर्नका लागि घरदेखि माथिपट्टि पुग्नुपर्ने बाध्यता छ ।

‘लाजमर्दो कुरा नगरपालिका कार्यालयमै टावर टिप्दैन, तर पनि नगरपालिकाको ध्यान गएको छैन, नागरिक वर्षौंदेखि फोनको समस्या झेल्न बाध्य छन्,' स्थानीयवासी पुर्णकेशर न्यौपानेले भने । ‘नगर क्षेत्रमा टावर राख्ने भनेर बोलपत्र भएर ठेकेदारले जिम्मा लिइसक्दासमेत टावर निर्माणमा शीघ्रताका लागि ताकेता भएको छैन,' उनले भने । नगरपालिका कार्यालयनै सञ्चारविहीन भएको कुरामा बारम्बार ध्यानाकर्षण गराउँदा कसैले चासो नदिएको स्थानीयवासीको भनाइ छ ।



वडा नं १ र २ मा विद्युत्को पनि चरम समस्या छ । नगरपालिका कार्यालयको नजिकको दूरीमा रहेको छलगाड लघु जलविद्युत् आयोजना आज हो कि भोलि भन्ने अवस्थामा छ । कमजोर बाँध तथा कम क्षमताको उपकरणले गर्दा पटक–पटक अवरुद्ध हुने गर्छ । हिँउदमा कम पानी भएर र वर्षात्मा खोला बढेर अवरुद्ध हुने गर्छ ।

नगरपालिकाले नै प्रयोग गर्ने विद्युत्को हालत नाजुक भइसक्दासमेत सुधारका लागि कसैले चासो नदिएको स्थानीयवासी बताउँछन् । विद्युत्को अवस्था नाजुक भएकै कारण बेलुकी ६ बजेदेखि ११ बजेसम्म मात्रै बत्ती आउने गर्छ भने दिनमा बत्ती नै आउँदैन ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार १६:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया