जापानले नेपालबाट कृषि कामदार पनि लैजाने
फरकधार / २५ कात्तिक, २०७६

काठमाडाैं– नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले आगामी दिनमा कृषि क्षेत्रका लागि पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले साेमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएका थिए । 



भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ । मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध गरे ।

भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताएका थिए । नेपाली कामदारलाई आवश्यक सिप, तालिम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत सहकार्य गर्न सकिने उनको भनाइ थियो । उनले नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिक रुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने प्रतिबद्धता व्यक्त गरे ।



 


  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार २३:३२:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया