फिक्सन/कथा
[फिक्सन] एभ्रिथिङ लेफ्ट

रुँदैरुँदै उसले टिभी खोली । खासमा उसलाई टिभी हेर्न त्यति मन पर्दैन । तर, मेरो हत्याको समाचारमा थप अपडेट केही भएको छ कि भन्ने थाहा पाउन उसलाई पक्कै मन लागेको हुँदो हो ।

टिभीमा अझै पनि मेरो हत्याको समाचार नै प्राथमिकताका साथ आइरहेको थियो ।

म टिभी बन्द गर्न चाहन्थेँ । मलाई सुन्नु थिएन, आफू मारिएको समाचारमाथि आइरहेका विश्लेषण । बरु मलाई त मेरीसँग चेस खेल्न मन भइरहेको थियो । 

‘चेस खेलौँ न हामी,’ मैले उसलाई भनेँ । मलाई थाहा छ, उसको सबैभन्दा मन पर्ने खेल नै चेस हो । ऊ चेसलाई यति बिघ्न मन पराउँछे कि चेस खेल्दा उसलाई समय बितेको पत्तो नै हुँदैन । अस्ती पाँच दिनसम्म ऊ हराएकी थिई । पछि भनी– म चेसमा भुलेकी थिएँ । 

चेस खेल्ने कुरा सुन्ने वित्तिकै उसले चेसबोर्ड निकाली । अनि ह्वाइट आफूले लिने बताउँदै मिलाउन थाली ।

उसले चेस मिलाउँदै गर्दा मैले टिभी बन्द गरिदिएँ । त्यही बेला मेरो मोबाइलमा पप अप आयो, अनलाइनले समाचार पुस गरेको रहेछ– शिखर इज सट डेड, इन बानेश्वर !



मैले पपअप खोलिनँ, मलाई त्यही समाचार अब बारम्बार पढ्नु थिएन । मोबाइललाई साइलेन्समा राखेँ, अब चेस खेल्दा डिस्टर्ब नहोस् भनेर । 

मेरीले मेरा चेस गोटी पनि मिलाउन थालिसकेकी रहिछे । उसले लेफ्टमा राख्नका लागि हात्ती पाइन । अनि भनी– तिमीमा के गल्ती छ, किन तिम्रो सबै कुरा लेफ्टमा समस्या आउँछ ? 



यो खासमा मेरो समस्या थिएन । लेफ्टले आफैं समस्या सिर्जना गरेको थियो । लेफ्ट, एभ्रिथिङ लेफ्ट । 

द एक्स पार्टी जो सरकारमा थियो, ऊ आफूलाई लेफ्ट भन्थ्यो । त्यसैले मेरीले लेफ्ट मन पराउँदिनथी । उसलाई त लेफ्टमा ठूलो समस्या थियो । तर, समय बित्दै जाँदा उसले यी सब कुरा भुल्न थालेकी थिइ । 

पहिलो दुई पियुसोलाई दुई स्टेप अगाडि बढाइ उसले ।

मैले उसको लेफ्ट हात समातेँ ।

खासमा उसको र मेरो एउटा कुरामा सम्झौता भएको छ– उसको लेफ्ट सबै मेरा लागि हो । उसको लेफ्ट आँखा मेरा लागि हो । उसले यसअघि नै वाचा गरिसकेकी छे– उसको विवाह भएपछि पनि उसको श्रीमानलाई उसले लेफ्ट आँखामा चुम्बन गर्न दिने छैन ।

‘सधैंका लागि तिम्रो लेफ्ट आँखा मेरो है,’ एउटा डेटमा मैले उसलाई भनेको थिएँ । उसले चुपचाप आँखा झिम्क्याएकी थिइ । त्यही दिन हामीले अरु कुराहरु पनि बाँडेका थियौँ, उसको भविष्यको श्रीमानको लागि र मेरा लागि । अनि एउटा सर्त पनि बनाएका थियौँ, उसको विवाहपछि उसको र मेरो भेट कहिल्यै गर्ने छैनौँ । 

दिस इज लभ, द इन्टेन्स वान । यो सब कुराकानी भएपछि उसले मलाई भनेकी थिइ । अनि मलाई पनि लाग्यो– उसले जे भनेकी छे, त्यो ठिक छ । 

त्यसको केही दिनपछि ऊ मेडिकल चेकअपका लागि गएकी थिइ । त्यो रात उसले मलाई फोन गरेर भनेकी थिइ– यु आर लक्की शिखर । मैले उसलाई अर्को प्रश्न गर्नै परेको थिएन, उसैले भनेकी थिइ– आइ ह्याभ टु युटेरस, द लेफ्ट वान इज योर्स !

कसैलाई पनि विश्वास लाग्दैन यो, उसको दुई वटा युटेरस छ । त्यसैले उसको लेफ्ट पाठेघर उसले मेरालागि राखिदिएकी छ ।

यसपटक उसले गतिलो चाल चाली । मैले उसले यस्तो खतरानक चाल चाल्ली भन्ने सोचेको थिइनँ, उसले मेरो दाहिनेतिरको हात्तीलाई पियुसोले उडाइदिइ । अनि त्यसलाई लगेर उसले राखिदिइ– लेफ्टमा । 

अनि अचानक उसले भनी– खासमा यहाँ कुनै हात्ती मारिएको नै छैन, मात्र डिस्प्लेस भएका छन्, यताबाट त्यता, त्यताबाट यता । 

मैले उसले भनेको यो कुरा बुझेको थिइनँ । अब मैले त्यही लेफ्ट हात्तीलाई अगाडि बढाएँ, उसको अर्को पियुसोको छेउमा लगेर राखेँ । 

ऊ मुस्कुराइ । अनि भनी– जब हात्तीहरु पियुसोसँग जोरी खोज्छन्, दे विल बी डेड । 

म झसंग भएँ । मानौँ, मलाई साँच्चिकै यसपटक कोठामा गोली प्रहार भएको छ । मेरो छातीबाट भुक्लुक्क तातो रगत बाहिर निस्किएको छ । मैले उसलाई केही भनिनँ, चुपचाप बसिरहेँ । 

चेसको गोटी चाल्दै उसले अब आफ्नी आमाको कथा सुनाउन थालेकी थिइ । बाहिर सडकमा कुनै ठूलो गाडी हर्न बजाउँदै अगाडि बत्तियो । उसले आमाको कथा अगाडि बढाउन पाइँन । म जुन मुडमा थिएँ, त्यसले पनि मलाई उसको आमाको कथा सुन्न मन थिएन । तर, यसअघि उसले बारम्बार आमाको कथा सुनाएकी थिइ, आमाले चेस खेलेको कुरा गरेकी थिइ र भनेकी थिइ– मेरो ड्याडसँग विवाह गर्नु नै मेरी आमा सबैभन्दा लक्की हुनु हो । म चुपचाप उसका कुरा सुन्थेँ । 

आइ लभ लिसनिङ स्टोरिज । 

चेस बोर्डबाट अधिकांश काला गोटीहरु बाहिर गइसकेका थिए । मैले खेलमा हारिरहेको थिएँ । अब मसँग केही गोटीमात्र बाँकी थिएँ, एउटा उँट, एउटा हात्ती, एउटा घोडा, मन्त्री र रानी । आजको दिन कसरी खेलिरहेको छु भनेर थाहा पाउन सकेको थिइनँ, मनमस्तिष्कमा ममाथि गोली हानिएको समाचरा सवार मात्र भइरहेको थियो ।

मैले उसलाई अलिक नजिक आउन अनुरोध गरेँ, किस्ड, अन हर लेफ्ट आँखा ।

ऊ खुसीले पुलकित भइ । अनि मलाई भुलाउनका लागि हुनुपर्छ, नयाँ कथामा प्रवेश गर्न थाली । 

स्टप दिस, मैले भनेँ । उसको हातमा भएको टिभीको रिमोट तानेँ, फेरि टिभी खोलेँ । 

टिभीको लाइभ नेपाल च्यानलमा द एक्स पार्टी र द वाइ पार्टीका चुनावी उम्मेदवारको अन्तर्वार्ता आइरहेको थियो । स्क्रिनको तल्लो भागमा अझै पनि शिखर इज सट डेड, इन बानेश्वर भन्ने समाचार स्क्रोलमा आइरहेको थियो । 

द एक्स पार्टीका नेताले भने– हामी खासमा गरिबका लागि राजनीति गरिरहेका छौँ, हामी लेफ्ट हौँ, जनवादमा हामी विश्वास गर्छौँ ।

द वाइ पार्टीका नेताले भने– हामीले समान समाजको परिकल्पना गरेका छौँ, हामीले नै जनताका लागि विशेष काम गरिरहेका छौँ । 

यो सुनेपछि ऊ हाँसी । त्यो हाँसो बेजोड थियो । त्यसले पूरै कोठालाई गुन्जयामान बनाइदियो । 

मैले मोबाइलको स्क्रिन पल्टाएँ, स्क्रिनमा फोन आइरहेको थियो– माइ लाइफको । यो खासमा यतिबेलासम्म मैले लुकाएको सत्य थियो, म विवाहित हुँ । तर, विवाहित हुँदाहुँदै पनि आइ एम इन लभ विथ हर । 

मेरी बुढीको आज नाइट ड्युटी थियो । उसले बल्ल भाइटल्स लिएर सकेको हुनुपर्छ, वार्डमा राउन्ड सकिएको हुनुपर्छ । मैले फोन उठाएँ– हेलो डियर ।

‘मैले पनि हल्लाहरु सुनेँ,’ उसले भनी, ‘आइ नो, नो वान विल सुट यु ।’ गुडनाइट भनेर उसले फोन राखी । आज अस्पताल अलिक बिजी भएको हुनुपर्छ, नत्र उसले यसरी छिटो फोन राख्ने थिइनँ ।

हामीले खेलिरहेको चेस निकै रोचक हुँदै गइरहेको थियो । अब विस्तारै उसका पियुसाहरु बोर्डबाहिर गइरहेका थिए, उसको हात्ती र उँट पनि दुवै बाहिर गए । उसको घोडा पनि बाहिर गयो । उसको रणनीतिले यहाँ काम गरेन । 

उसले मलाई भनी– मसँग रानी छ एन्ड सी क्यान डु एनिथिङ । 

मैले भनेँ, ‘सी इज सेरोमोनियल ।’

फेरि एकपटक बेजोडले हाँसी ऊ । अनि भनी– मेरी रानी सेरेमोनियल होइन, सी क्यान डु एनिथिङ । उसले के गर्न सक्छे भन्ने सुन्न मन छ ?

अत्यन्त छिटो उसले फिक्सन रच्न सक्छे । नयाँ कथा आफैं बनाउन सक्छे । उसले आफ्नै विगतमा पनि अनेक ट्विस्ट र टर्न्स ल्याएकी छे मलाई कथा सुनाउने बाहनामा ।

एकपटक उसले जे भनेकी थिइ, त्यो कुराले म झन्डै कोमामा पुगेको थिएँ । २४ वर्षकी मात्र भएकी छे ऊ तर उसले जे अनुभव गरेकी छे, त्यसको लेखाजोखा ४२ वर्षकी महिलाको भन्दा कम छैन । खासमा उसले र मैले एउटा लामो यात्रा तय गरेका थियौँ, मैले मेरी श्रीमतीलाई झुट बोलेर उसँगको त्यो यात्राको बन्दोबस्त मिलाएको थिएँ । त्यही दिन उसले मेरो हात समातेकी थिइ अनि भनेकी थिइ– एभ्रिथिङ लेफ्ट । हामीले त्यो दिन सबै लेफ्ट टर्नहरुमा आफ्नो गाडी घुमाएका थियौँ । र, त्यति बेला उसले आफ्नो सपनाबारे बताएकी थिइ । 

उसले भनेकी थिइ– उसँग जसले विवाह गर्छ, उसको मृत्यु ३ महिनामा हुन्छ । म झसंग भएको थिएँ । अर्को महिना उसको विवाह हुँदै थियो, उसको श्रीमानको आयु उसलाई पहिले नै थाहा भइसकेको थियो । त्यसपछि उसले अर्को पनि कथा रचेकी थिइ । म उसका कथाहरु सुन्थेँ र बिसिन्थेँ । बिर्सनु मेरो बानी भएको थियो । मैले बिर्सिन नसकेको एउटै कुरा थियो– उसको माया । त्यसैले म उसलाई मध्यरातमा होस् या जुनसुकै समयमा किन नहोस्, फोन गरिहाल्थेँ, मेसेज लेखिहाल्थेँ ।

यसपटक उसले रानीलाई अगाडि बढाइ, आफ्नो राजाको रक्षा गर्न । ठिक मेरो राजाको अगाडि ल्याएर दुई स्टेप पर राख्दै उसले भनी– चेकमेट । 

यसपटक उसले बिर्सिएकी थिइ, उसकी रानीलाई मैले घोडाबाट उडाइँदिएँ । 

हार्न जान्दिन ऊ, रिसले आगो भइ । अब चेस बोर्डमा उसको एउटै मात्र गोटी बाँकी रह्यो– राजा, जो एक स्टेपभन्दा अगाडि पछाडि गर्न सक्दैनथ्यो । अचानक उसको अनुहारमा रिसको झल्को देखियो । 

उसले दाहिने भागको पछाडि हात पुर्याइ । त्यहाँबाट झिकी सट गन । र, ड्याङ्ग हानिदिइ– मेरो राजालाई । 

चेसमा ब्ल्याक राजा सट डेड । यसअघि मैले उसको अनुहारमा यति ठूलो रिस कहिल्यै देखेको थिइनँ, उसको साथमा पेस्तोल देखेको थिइनँ । उसैले भनी– वान्टेड टु किल दोज हु सट यु । त्यसका लागि कोठाबाट पेस्तोल लिएर आएकी रहिछे । 

मेरो कोठामा गोली चल्यो । म चुपचाप बसेँ ।

टिभीको रिमोट हातमा लिएँ, केही बेरअघि बन्द गरेको टिभी फेरि खोलेँ । 

टिभीमा फ्ल्यास न्युज आएको थियो– म्यासकर इन प्यालेस, किङ इज सट डेड । 

टिभीको समाचारमा उसको पनि आँखा पुग्यो । उसले मलाई हेरी र भनी– एभ्रिथिङ इज लेफ्ट फर यु ।

 

यो ‘शिखर इज सट डेड, इन बानेश्वर’को दोस्रो भाग हो । यसको पहिलो भाग पढ्न क्लिक गर्नुहोस्ः 

शिखर इज सट डेड, इन बानेश्वर


  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार ०:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया