वैकल्पिक राजनीतिको वकालत गर्नेलाई ‘लज्जास्पद’ मत

काठमाडौं– शनिबार ५२ पदका लागि विभिन्न ठाउँमा भएको उपनिर्वाचनका मत परिणाम आउने क्रम जारी छ । अधिकांश ठाउँमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नै एकअर्काका प्रतिस्पर्धी देखिएका छन् । केही ठाउँमा समाजवादी पार्टी, राजपाले पनि जित हासिल गरेका छन् ।

२०७४ सालमा कांग्रेसले जितेका केही ठाउँमा यसपटक नेकपाका उम्मेदवारले जित हासिल गरेका छन्, झन्डै बराबरी स्थानमा नै नेकपाबाट पद नेपाली कांग्रेसले खोसेको छ । 

यो उपनिर्वाचनमा आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने साझा पार्टी, विवेकशील नेपाली दलले पनि केही स्थानमा उम्मेदवारी दिएका थिए । तीमध्ये भक्तपुरको प्रदेशसभा, कास्कीको प्रतिनिधिसभा, दाङको प्रदेशसभा धरानको स्थानीय तहमा विवेकशील नेपाली दल र साझा पार्टीले आफ्ना उम्मेदवारको उपस्थिति बलियो भएको दाबी गर्दै आएका थिए । 

कतिसम्म भने पोखरा प्रतिनिधि सभामा उम्मेदवारी दिएकी साझा पार्टीकी रजनी केसीले त यो चुनावबाट परिवर्तनको बिगुल फुक्ने बताएकी थिइन् । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्यहरुले पनि विभिन्न निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले राम्रो मत ल्याउने आश गरेका थिए । 

तर, आइतबार दिउँसोसम्म पोखरा, धरान, भक्तपुर, दाङमा ६० हजार मत गनिसक्दा पनि साझा पार्टीका यी सबै ठाउँका उम्मेदवारले जम्मा एक हजार मत पनि कटाउन सकेनन् । पोखरामा १५ हजारभन्दा बढी मत गनिसक्दा साझा पार्टीकी रजनीले १०० मत मात्र पाएकी थिइन् । पोखरामै यति मत गनिसक्दा विवेकशील नेपाली दलकी जमुना शर्माले १० मतमात्र ल्याएकी थिइन् । यो प्रतिशतमा भन्दा १ प्रतिशतभन्दा पनि अत्यन्त कम मत हो । 

भक्तपुरमा पनि साझा पार्टीका उम्मेदवारले उल्लेख गर्न लायक मत ल्याउन सकेनन् । धरान र दाङमा पनि साझा पार्टी र विवेकशील नेपाली दलका उम्मेदवारले अत्यन्त कम मतमा चित्त बुझाउनु पर्ने भएको छ । उपनिर्वाचनको चर्चा चल्नासाथ कास्कीमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र नै चुनावी मैदानमा उत्रिने चर्चा चलेको थियो । 



‘वैकल्पिक राजनीति अहिलेको आवश्यकता हो, जनताले यो कुरा बुझेका छन्,’ उपनिर्वाचनको चर्चा चल्नुअगाडि नै एउटा भेटमा रवीन्द्र मिश्रले भनेका थिए, ‘हामीले कतिपय ठाउँमा बुझाउन सकेका थिएनौँ होला, तर अब हामीले यसलाई पूर्ण रुपमा बुझाउन कोशिस गरेका छौँ, उपनिर्वाचनमा नै यसको परिणाम देखिने छ ।’

त्यसयता, मिश्र हुन् वा विवेकशील नेपाली दलका विभिन्न नेताहरु किन नहुन्, सबै चुनावी अभियानमा जुट्न थाले । यी दुवै पार्टीका नेताहरुले बारम्बार पुराना पार्टी वा पुरानो राजनीतिक संस्कारको अन्त्य गरेर अब अगाडि बढ्ने समय आएको वकालत गर्दै आए । स्रोतहरुका अनुसार विवेकशील नेपाली दलले यो उपनिर्वाचनमा कास्कीमा मात्र कम्तिमा पनि ५ हजार मत आफ्नो उम्मेदवारको पक्षमा ल्याउने अनुमान गरेको थियो । तर, उपनिर्वाचनको अघिल्लो दिन विवेकशील नेपाली दलको नेतृत्वमा आफूहरु एक हजार मतमा सिमित हुने आशंका बैठकमा उठेको थियो । निर्वाचन सकिएपछि उनीहरु नै यो संख्या ७ सयमा झर्न सक्ने अनुमानमा पुगेका थिए । 



तर, कास्की एउटा ठाउँमा मात्र जति मत आउँछ भन्ने अनुमान विवेकशील नेपाली दलले गरेको थियो, त्यो सबै ठाउँमा विवेकशीलले ल्याएको मत जोड्दा पनि नपुग्ने छाँटकाँट देखिएको छ । त्यस्तै अवस्था साझा पार्टीको पनि छ । 

अन्ततः वैकल्पिक राजनीतिको वकालत गरिरहेका यी दुई दलले जमानत जोगाउनै हम्मेहम्मे पर्ने स्थिति देखिएको छ । 

बरु मूलधारको राजनीतिमा आएको धेरै नभएको सिके राउतको पार्टीले सम्मानजनक मत ल्याएको छ, एक ठाउँमा त उसले जित दर्ज पनि गरेको छ ।

यो उपनिर्वाचनले नेपाली राजनीतिमा लामो समयसम्मका लागि प्रभावकारी अर्थ राख्छ । यस्तो अर्थ जसले नेपाली राजनीतिक डाइनामिक्स कसरी निर्माण भएको छ भन्ने । 

यो उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेका वैकल्पिक राजनीतिको वकालत गर्नेलाई पनि राम्रो शिक्षा मिलेको छ । त्यो हो– पुराना पार्टीको रुष्ठ आलोचना गर्दैमा र सामाजिक सन्जालमा तडकभडक देखाउँदैमा मत पाउन सकिँदैन । 

त्यसो त एकथरिले साझा पार्टी र विवेकशील नेपाली दलको फुटका कारण पनि यो निर्वाचनमा उनीहरुले हार व्यहोर्नु परेको बताउन थालेका छन् । तर, दुवै पार्टीको उपस्थितिलाई एकमुष्ठ बनाएर हेर्दा पनि उनीहरुको स्थान उल्लेख्य देख्न सकिएको छैन ।

  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १५:४७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया