काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाई टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् । उनले हाल टुँडिखेल आसपासमा भवनको पुनर्निर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताए । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताए ।
उनले आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुने उल्लेख गर्दै भने, ‘टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै हो ।’
करिब तीन हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाई टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिका प्रमुखको यस्तो भनाइ आएको हो । प्रमुख शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने जनाउँदै सार्वजनिक चासोको विषयलाई राजनीतिकरण नगर्न पनि सबै अभियानकर्मीसँग आग्रह गरेका छन् ।
दरबार हाईस्कुल र धरहरा पुनर्निर्माण तथा वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको र ती संरचनाको निर्माण पूरा हुनेबित्तिकै खुलामञ्च खाली हुने उाले बताए ।
अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाईस्कुल पुनर्निर्माणका सामग्री राखिएका छन् । दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हुँदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।