बेलायतमा आमनिर्वाचनः कन्जर्भेटिभ पार्टीको स्पष्ट बहुमत, विपक्षी नेता जेरोमी कोर्बिनको राजीनामा

एजेन्सी– बेलायतको आम निर्वाचनले फेरि पनि सत्तामा कन्जर्भेटिभ पार्टीलाई नै निर्वाचित गराउने स्पष्ट संकेत दिएको छ । अन्तिम परिणाम नआइसके पनि कन्जर्भेटिभ पार्टीले हाउस अफ कमन्सका लागि स्पष्ट बहुमत पाउने निश्चित भएको हो । 

बिहिबार स्थानीय समयअनुसार विहान ७ बजेबाट राति १० बजेसम्म बेलायतमा निर्वाचन भएको थियो । मतदान सकिएलगत्तै विभिन्न एक्जिट पोलहरु आइरहेका छन्, नतिजा सार्वजनिक हुन थालेको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कन्जर्भेटिभ पार्टीले पूर्ण बहुमत पाउने देखिएको छ । एग्जिट पोलहरु अनुसार ६५० मध्ये कन्जर्भेटिभ पार्टीले ३६८ स्थानमा विजय हासिल गर्ने देखिएको हो । लेबर पार्टीले १९१ स्थानमा र लिबरल डेमोक्रेट्सले १३ स्थानमा जित दर्ज गर्दैछन् ।

सन् २०१७ मा भएको निर्वाचनको भन्दा यसपटक कन्जर्भेटिभ पार्टीले ५० भन्दा बढी सिटमा जित निकालेको छ । 

बेलायतमा सरकार बनाउनका लागि कुनै पनि पार्टीलाई ३ सय २६ सिटमा जित दर्ज गर्नु पर्ने हुन्छ । 

नतिजाहरु आउन थालेपछि प्रधानमन्त्री जोन्सनले ट्विट गरेका छन्, ‘हामी विश्वका सबैभन्दा ठूला लोकतन्त्रमा रहन्छौँ ।’



यदि यही एग्जिट पोलअनुसार नतिजा आएको खण्डमा यो सन् १९८७ पछि कन्जर्भेटिभ पार्टीको सबैभन्दा ठूलो जित हुनेछ । अनि लेबर पार्टीका लागि सन् १९३५ यताको सबैभन्दा कमजोर प्रदर्शन पनि यही हुनेछ । अहिले लेबर पार्टीलाई कम्तिमा पनि ७१ सिट घाटा भएको देखिएको छ । 

पाँच वर्ष यतामात्र बेलायतमा गरिएको यो तेस्रो निर्वाचन हो । अनि डिसेम्बरमा गरिएको चाहिँ १०० वर्षपछिको पहिलो चुनाव हो ।



एग्जिट पोलअनुसार अन्तिम नतिजा पनि आएमा प्रधानमन्त्री बोरिस जोन्सनलाई आफ्नो सर्तअनुसार युरोपेली युनियनबाट बेलायतलाई बाहिर ल्याउन सक्नेछन् ।

 

विपक्षी नेता कोर्बिनको राजीनामा

यो निर्वाचनमा अत्यन्त नराम्रो प्रदर्शन भएसँगै विपक्षी नेता जेरोमी कोर्बिनले अब भविष्यका निर्वाचनमा पार्टीलाई आफूले नेतृत्व नगर्ने बताएका छन् । उनले मिडियामाथि पनि आफ्नो रोष प्रकट गरेका छन् । आफ्नो टिमलाई निर्वाचनमा मिडियाले साथ नदिएको उनको आरोप छ ।

  • प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार ९:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया