एजेन्सी– इरानस्थित युक्रेनी दूतावासले बुधबार विहान भएको विमान दुर्घटनाको कारण इन्जिनमा भएको खराबी बताएको छ । बुधबार विहान १८० यात्रु सवार युक्रेनी विमान इरानमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै १७६ जना यात्रु र चालक दलका सदस्यको निधन भएको छ ।
अहिले मध्यपूर्वमा इरान र अमेरिकाबीच तनाव बढिरहँदा यो विमानको दुर्घटनाको कारण पनि आतंकवादी गतिविधि वा कुनै आक्रमणसँग जोडिएको हो कि भन्ने अनुमान गरिएको थियो ।
तर, इरानमा रहेको युक्रेनी दूतावासले यसमा कुनै पनि आतंकवादी घटना वा अमेरिका–इरान तनावको कारण नरहेको जनाएको छ । युक्रेनी दूतावासले उडान भरेलगत्तै विमानको इन्जिनमा खराबी आएका कारण विमान दुर्घटनामा परेको बताएको छ ।
इरानको रेड क्रिस्टेन्टले दुर्घटनामा कोही पनि सुरक्षित नभएको जनाएको छ ।
इरानको इमाम खोमेनी विमानस्थलबाट उडान भरेको विमान युक्रेनको राजधानी किभ जाँदै थियो ।
युक्रेनी सरकारले यो विमानको दुर्घटनाबारे छानबिन गर्न एक समिति गठन गरिसकेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो दुर्घटना भएपछि ओमान भ्रमणलाई छोट्ट्याएर किभमा फर्किने भएका छन् । ‘मेरो गहिरो समवेदना छ,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।