एजेन्सी– इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको गालामा थप्पड हानेको बताएका छन् ।
पछिल्ला घटनाक्रमलाई लिएर बुधबार देशका नाममा सम्बोधन गरेका खामेनीले इराकमा रहेका दुई अमेरिकी सैन्य अखडामा दर्जनभन्दा बढी मिसाइलले आक्रमण गरिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘हिजो हामीले अमेरिकाको गालामा थप्पड हान्यौँ, तर त्यतिले मात्र पुग्दैन ।’
उनले अमेरिकालाई भ्रष्ट देशको संज्ञा पनि दिएका छन् । उनले अमेरिकाले युद्ध, विभाजन तथा ध्वंशलाई बढावा दिइरहेको बताएका छन् ।
खामेनीले यही सम्बोधनमा गत शुक्रबार बग्दादमा मारिएका इरानी सैनिक कमान्डर कासिम सुलेमानीको प्रशंसा पनि गरेका छन् ।
उता, इरानी सेनाले पनि अमेरिकी सैन्य अखडामा गरेको यो आक्रमणलाई कास्टिङ मात्र भएको जनाएको छ । इरानको सरकारी न्युज एजेन्सी आइआरएनएका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड्स कोरको अपरेसनबारे मेजर जनरल मोहम्मद बाकरीले इरानले अहिलेसम्म आफ्नो सेनाको क्षमताको झाँकीमात्र देखाएको र अब अमेरिकाविरुद्ध गतिलो जवाफ दिने बताएका छन् । उनले अमेरिकाले अहिलेलाई मध्यपूर्व छोड्नु नै उचित हुने विकल्प पनि दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।