प्रदेश २मा सामुदायिक विद्यालयका छात्रालाई प्रतिमहिना ५०० प्रोत्साहन भत्ता दिइने

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बिमा सप्ताह शिविर’ उद्घाटन गर्दै उनले साे कुरा बतएका हुन् ।

'प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका छात्रालाई ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको छ ,' राउतले भने । मुख्यमन्त्री राउतले विद्यालयमा छात्रालाई टिकाइराख्न यो योजना प्रदेश सरकारले सुरु गर्न लागेको स्पष्ट गर्दै छोरीलाई २० वर्षभित्र २० लाख उपलब्ध गराउने सोचका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताए ।

उनले प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ, बेटी बचाइ’ कार्यक्रमअन्तर्गत एक लाखको बिमा रकमलाई २० लाखसम्म पुर्याउने सोचका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए । मुख्यमन्त्री राउतले छोरी शिक्षाको बीमा रकमलाई वृद्धि गर्न प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख तथा अन्य दातृनिकायसँग कुराकानी अगाडि बढाएको उल्लेख गरे ।

छोरी बिमा कार्यक्रमका पर्सा जिल्ला संयोजक ईश्वर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतले देश विकासका लागि नारी शिक्षित हुन आवश्यक रहेको र प्रदेश सरकारले थालनी गरेको बीमाले छोरीलाई शिक्षित हुने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

वीरगञ्जको बिर्तामा सञ्चालित श्री त्रिजुद्ध माविको सभाकक्षमा बिहीबार सुरु भएको सप्ताहव्यापी बिमा शिविर माघ ९ गतेसम्म सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विसं २०७५ माघ १ गते यता जन्मिएका छोरीको बिमा गर्न छुट भएकालाई शिविर सञ्चालन गरिएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १६:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया