लमजुङमा बन्चराे प्रहार गरेर वृद्धकाे हत्या

लमजुङ— लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा बन्चरो प्रहार गरी एक वृद्धाको हत्या भएको छ । बेसीसहर–डुम्रे सडकको पाउँदीनजिकै सडकमुनि मस्र्याङ्दी आधारभूत विद्यालय पछाडि बस्ने ६० वर्षीया एकल महिला सीता पोखरेल भुजेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाँटीमा बन्चरो नै रहेको अवस्थामा वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । घटना आइतबारको भए पनि प्रहरीले सोमबार बिहान सवा ११ बजेतिरमात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङले बताए । 

बन्चरो मृतकको घाँटीमै गडेको र बिँड फुक्लिएको अवस्थामा खाटमुनि फेला परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । डीएसपी गुरुङले घटना आइतबार राति भए पनि वृद्धा एक्लै बसेको र वरपर  कोही नहुँदा घटना बारे ढिला खबर आएको बताए । मृतकको शव पोस्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा लगिएको छ । मृतक सिताको रगत छरपस्ट भएको र शव वरपर मकै छरिएको अवस्थामा रहेको र रगत लतपतिएको अवस्थामा शव फेला परेको स्थानीय अम्बीका पोखरेलले बताइन् ।

मृतक सिताले कानमा लगाएका अन्दाजी अढाई तोला सुनका गहनामध्ये ठूलाठूला रिङ कानबाट चुडालेको र केही साना रिङमात्रै फेला परेको प्रहरीको भनाई छ ।  केही दिनअघिमात्रै उनले एउटा खसी २२ हजार रुपैयाामा बिक्री गरेकी थिइन । त्यो पैसा पनि उनको साथमा नरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले यी सबै विषयमा अनुसन्धान भइरहेको बताए । घटनाको अनुसन्धान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २ वटा कुकुर झिकाइएको थियो । प्रक्रिया पूरा गरी कुकुरलाई फिर्ता पठाइएको छ । घटना घटेको जानकारी आएको करिब २४ घण्टासम्म शंकास्पद व्यक्तिलाई सोधपुछबाहेक प्रहरीले कसैलाई नियन्त्रणमा लिन नसकेको डिएसपी गुरुङले बताए । उनले भने घटनामा संग्लनको खोजीकार्य तिव्र पारिएको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार ८:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया