ए डिभिजन लिगमा हाल सम्मका रेकर्ड्स
फरकधार / १७ माघ, २०७६
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगका नवौँ चरणका खेल सकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला तथा सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा हालसम्म ६३ वटा खेल सम्पन्न भए । लिगमा अब मात्र ४ चरणका खेल बाँकी रहँदा त्रिभुवन आर्मी क्लब २० अंकका साथमा शीर्ष स्थानमा छ भने सरस्वती युवा क्लब ४ अंकसाथ अन्तिम स्थानमा छ । 



लिगमा हालसम्म बनेका केही रेकर्ड्स



१. सन्तोष साहुखलको १००औँ लिग गोल
ए डिभिजन लिगमा १००औँ गोल पूरा गर्ने च्यासलका कप्तान सन्तोष एक्ला खेलाडी हुन् । उनले यही सिजनमा नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।



२. मनाङ मर्स्याङ्दी क्लब एक्लो अपराजित टोली 
लिगको ९औँ चरणसम्म आइपुग्दा पराजय नबेहोर्ने टिम बनेको छ, मनाङ मर्स्याङ्दी । मनाङले ९ खेलेकोमा पाँचमा जित तथा चारमा बराबरीको नतिजा निकालेको छ ।



३. सन्तोष सर्वाधिक गोलकर्ता
च्यासलका कप्तान सन्तोष साहुखल ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । त्यसपछि एपिएफका आशिष लामा रहेका छन्, उनले ५ गोल गरेका छन् । लिगका ६३ खेलमा १ सय २२ गोल भएको छ । जसमा ६७ जनाले गोल गरेका छन् । 

४. सर्वाधिक गोल भएको खेल 
जारी लिगको ९औँ चरणसम्म आइपुग्दा हिमालयन शेर्पा तथा सरस्वती युवा क्लबबीच भएको खेलमा सर्वाधिक गोल भएको छ । यो खेलमा ७ गोल भएको थियो । जसमा सरस्वतीले ४ तथा हिमालयनले ३ गोल गरेका थिए । 



५.रातो कार्ड 
लिगमा हाल सम्म १३ जनाले रातो कार्डको सामना गरेका छन् । जसमा मनाङ मर्स्याङ्दीका खेलाडीले सर्वाधिक रातो कार्ड पाएका छन् । मनाङका ३ खेलाडीले रातो कार्ड बेहोरेका छन् । 
 
६. पहेँलो कार्ड  
हालसम्म लिगका ६३ वटा खेल सकिँदा १ सय ३० वटा पहेँलो कार्ड देखाइएको छ । लिगमा ९९ जना खेलाडीले पहेँलो कार्ड बेहारेका छन् । हालसम्म ३ जनाले सर्वाधिक ३ पहेँलो कार्ड बेहोरेका छन् । जसमा हिमालयन शेर्पाका स्टिफनी समीर देइयुबिनी, नेपाल पुलिसका हेम तामाङ, सशस्त्र प्रहरी बल (एपिएफ)का आशिष लामा रहेका छन् । लिगमा मनाङ मर्स्याङ्दीका खेलाडीले सर्वाधिक पहेँलो कार्ड पाएका छन् । मनाङका खेलाडीले १३ पहेँलो कार्ड पाएका छन् ।

७. सर्वाधिक क्लिन सिप
जारी लिगमा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ, आर्मीका गोलरक्षक विकेश कुथु तथा मनाङका गोलरक्षक दिलीप कार्की सर्वाधिक क्लिन सिप राख्न सफल भएका छन् उनीहरुले समान ६ खेलमा क्लिन सिप राखेका छन् । सरस्वतीका गोलरक्षक प्रदीप भण्डारी तथा एपिएफका गोलरक्षक अमितकुमार चौधरीले सबैभन्दा कम खेलमा क्लिनसिप राखेका छन् । उनीहरुले समान १ खेलमा क्लिसिप राखेका छन् । 



८. रोमाञ्चक उपाधि तथा रेलिगेसन होड 
लिगको ९औँ चरणसम्म आइपुग्दा शीर्ष तीन टोलीबीच उपाधि तथा अन्तिम तीन टोलीबीच रेलिगेसन भिडन्त रोमाञ्चक मोडमा पुगेको छ । शीर्ष तीन टोलीबीच मात्र १ अंकको भिन्नता रहेको छ । शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २० अंक हुँदा दोस्रो तथा तेस्रो स्थानमा रहेका क्रमशः मच्छिन्द्र तथा साबिक विजेता मनाङ मर्स्याङ्दीको समान १९ अंक रहेको छ । 

त्यस्तै, रेलिगेसन होड पनि रोमाञ्चक मोडमा पुगेको छ । यसपटक एक मात्र टोली रेलिगेसनमा पर्ने हुँदा अन्तिमका ३ टोली हिमालयन शेर्पा, सशस्त्र प्रहरी बल (एपिएफ) तथा सरस्वती युवा क्लबबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । 

लिगको १२औँ स्थानमा रहेको हिमालयन र अन्तिम स्थानमा रहेको सरस्वतीबीच मात्र ३ अंकको फरक छ । १२औँ स्थानको हिमालयको ७ अंक रहेको छ भने १३औँ स्थानमा रहेको एपिएफको ५ तथा अन्तिम स्थानको सरस्वतीको ४ अंक रहेको छ । 

९. लगातार जित 
लिगको नवौँ चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लब तथा मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक लगातार ३ खेलमा जित निकालेका छन् । सरस्वती क्लबले सर्वाधिक लगातार ५ खेलमा हारको सामना गरेको छ । 

र, याे पनि
लिगमा दुई उत्कृष्ट टोली मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र क्लबबीच खेल भएको थियो । खेलअवधिभर स्थिति सामान्य रहेता पनि खेल सकिएपछिको खेलाडीहरुको झडपले उग्र रुप लिन पुगेको थियो । मनाङका जगदीश श्रेष्ठले मच्छिन्द्रका दीपक राईलाई धकेलेपछि सुरु भएको झडपलाई साम्य बनाउन खेल पदाधिकारी तथा सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो । 

एन्फाले सोही झडपमा संलग्न भएको भन्दै ६ खेलाडीलाई अनुशासनको कारबाही पनि गरेको छ । एन्फाले मनाङका जगदीश श्रेष्ठ तथा अशोक बराललाई ५ खेलको प्रतिबन्ध लगायो भने मनाङका रञ्जन विष्ट, मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ तथा विजय धिमाललाई २–२ खेलको प्रतिबन्ध लगाएको छ । 

  • प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार १८:३३:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया