काठमाडौं– नेपालको चर्चित गायन रियालिटी सो नेपाल आइडलमा इसेवाबाट पनि भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन थ्रीमा यसपटक इसेवामार्फत भोटिङ गर्न सकिने भएको हो । इसेवाको एन्ड्रोइड तथा आइओएस मोबाइल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।
प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोटदेखि अधिकतम एक हजार भोटसम्म गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८:३० बजेदेखि सोमबार मध्याह्न १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।
जारी प्रतियोगितामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाईं, बर्दियाका प्रवीण बेडवाल, पोखराका निशान बुडुजा, पोखराकै मुस्कान रानाभाट, हेटौँडाकी मिग्मा लामा, काठमाडोकी मेघा श्रेष्ठ, पोखराकी ममता गुरुङ, बर्दिवासका किरणकुमार भुजेल, चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालका चर्चित रियालिटी सो नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।