एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिएका छन् । उनले मोदीले फेरि गल्ती गरे त्यो नै उनको अन्तिम गल्ती हुने बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले मोदीसँगै भारतीय सेनाका प्रमुख जनरल बिपिन रावतलाई पनि निशाना साँधेका छन् ।
बिहिबार पाकिस्तान प्रशासित कश्मिरको मीरपुरमा कश्मिर एकता दिवसलाई सम्बोधन गर्दै खानले बताएका हुन्, ‘नरेन्द्र मोदीले भारतले चाहेको खण्डमा ११ दिनमा पाकिस्तानलाई ध्वस्त बनाउने बताएका छन् । यस्तो लाग्छ कि उनले विश्वको इतिहास पढेका छैनन्, यो उनको घमन्डी बयान हो र मैले यसलाई इतिहासमा लैजान पर्ने अवस्थाका रुपमा बुझेको छु ।’
त्यसपछि उनले नेपोलियन र हिटलरको सेनाको प्रसंग जोडे । ‘त्यति बेला उनीहरु विश्वकै सबैभन्दा शक्तिशाली फौज थिए,’ खानले भने, ‘तर, रुसलाई उनीहरुले जित्न सकेनन्, रुसको चिसोमा दुवैका सेनाको घमन्ड चूर भएको थियो । उनीहरुले पनि त्यति बेला रुसलाई पराजित गर्नु केही दिनको काम भएको बताएका थिए ।’
भियतनाममा पनि अमेरिकालाई केही दिनको काम भएको जस्तो लागेको, अफगानिस्तानलाई समय समयमा त्यस्तै लागेको भन्दै इमरानले भारतले आक्रमण गर्ने सोचे मात्रै पनि ठूलो मूल्य गुमाउनु पर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना २८ जनवरीमा पाकिस्तानविरुद्ध लड्न परेमा भारतले १० दिनमा नै पाकिस्तानलाई कब्जामा लिने बताएका थिए । उनले पाकिस्तानले भारतसँग तीन युद्ध हारिसकेको पनि बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।