आइतबार पनि संसद बैठक स्थगित, अदालत पुगेको विषयमा अवराेध नगर्न कांग्रेसलाई सभामुखको आग्रह

काठमाडौं– ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा नेताबाहेककालाई मात्र भ्रष्टाचार मुद्दा लगाएको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसले आइतबार पनि संसद अवरुद्ध गरेको छ । 

कांग्रेसको सोही मुद्दामा यसअघि बिहीबार पनि संसद् अवरुद्ध गरेको थियो । आइतबार संसद् सुरु भएलगत्तै कांग्रेस सांसदहरुले बोल्ने समय माग गर्दा सभामुख अग्नि सापकोटाले समय नदिएपछि कांग्रेस सांसदले उठेर अवरोध सुरु गरेका थिए । अवरोधकै बीच नेकपा सचेतक शान्ता चौधरीले पनि बोल्न समय मागेकी थिइन्, तर सभामुख सापकोटाले उनलाई पनि समय दिएनन् ।

सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट सम्बोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । कांग्रेसको कुरा आफूले गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताए ।

जनप्रतिनिधिमूलक थलो संसद्लाई गतिशील र चलायमान बनाइराख्नुपर्ने भन्दै सापकोटाले कांग्रेसलाई आफ्नो सरोकार संसदको विशेष समयमा राख्न पनि सुझाब दिएका थिए । सभामुखको आग्रहपछि पनि कांग्रेस सांसदहरु आफ्नो सिटमा नबसी संसद अवरुद्ध गरेपछि सापकोटाले संसद बैठक माघ २८ गतेसम्मका लागि  स्थगित गरे ।





  • प्रकाशित मिति : माघ २६, २०७६ आइतबार १५:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया