काठमाडौं– अभिनेत्री आँचल शर्माले विवाहको तीन दिनपछि शनिबार विवाहको पार्टी दिएकी छिन् । त्यही पार्टीमा पुग्नका लागि आँचल श्रीमान उदीप श्रेष्ठसँग होटलसम्म हेलिकोप्टरमा पुगेकी थिइन् ।
रिसेप्सनमा उनले लेहेङ्गा लगाएर पुगेकी थिइन् । रिसेप्सनको दिनमा नै पत्रकारहरुसँग अन्तर्वार्ता दिएकी आँचलले आफूले यो लेहङ्गा शभ्यसाक्षीको डिजाइनमा लगाएको बताएकी छिन् । शभ्यसाक्षी भारतकी विश्व चर्चित डिजाइनर हुन् । आँचलले लगाएको यो लेहङ्गाको मूल्य १६ लाख नेपाली रुपैयाँ भएको बताइएको छ ।
पत्रकारहरुसँग कुराकानी गर्दै आँचलले रिसेप्सनको दिनमा आफूले उदिपलाई पाउनु ठूलो भाग्य भएको र केयरिङ श्रीमान पाएकोमा खुसी लागेको बताइन् ।
उदीपले पनि आफूले विवाहमा आँचल जति भावुक भएकी थिइन्, त्यसअघि उनलाई फिल्ममा मात्र त्यस्तो भावुक देखेको बताएकी छिन् ।
‘उनका सबै फिल्म हेरेको छु,’ पेशाले चिकित्सक उदीपले भनेका छन्, ‘उनलाई विवाह गर्दा एकदमै खुसी छु ।’
आँचलले आफूूले क्रस कल्चरल विवाह गरेकाले केही कन्फ्युजन चाहिँ भएको तर आफूले आफ्नै तरिकाले फलो गरेको पनि बताएकी छिन् । उता, उदीपले आफूले आँचललाई हनिमुनका लागि लैजान खोज्ने ठाउँ अहिले सम्भव नभएको बताए । यसको कारण चाहिँ कोरोना थियो । तर, उनले आफूले कहाँ लैजान लागेको भन्ने चाहिँ खोलेनन् ।
उदीपले नायिकासँग विवाह गर्दा आफूलाई अलिक प्रेसर भएको र मिडियालाई फेस गर्दा नर्भस हुने पनि बताएका छन् । सँगसँगै उनले आँचलले पढाइ र प्रोफेसनलाई अगाडि बढाउने पनि बताएका छन् ।
‘समय आए म आँचलका लागि फिल्म निर्माण पनि गर्न सक्छु,’ उदीपले भनेका छन् । अर्कोतिर, आँचलले आफूले कहिल्यै पनि उदीपलाई अभिनयका लागि कर नगर्ने बताएकी छिन् ।
‘उदीप जी बबाल रोमान्टिक हुनुहुन्छ,’ उनले भनेकी छिन्, ‘उहाँ अत्यन्त केयर गर्नुहुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।